काठमाडौं, २३ असार ।
आख्यानकार तथा पत्रकार वसन्त पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’ को दोस्रो संस्करण प्रकाशित भएको छ ।
पहिलो संस्करणप्रति पाठकबाट प्राप्त उल्लेखनीय रुचि र बढ्दो मागलाई मध्यनजर गर्दै शिखा बुक्सले कृतिको दोस्रो संस्करण बजारमा ल्याएको हो ।
मंगलबार आयोजित एक कार्यक्रममा स्रष्टा समाज चितवनका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाईलगायतले संयुक्त रूपमा दोस्रो संस्करणको विमोचन गरे ।
शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ‘बखान’ पाठकमाझ सर्वाधिक रुचाइएको कृतिमध्ये एक बनेको बताए । उनका अनुसार उपन्यासमा चितवनको इतिहास, २००७ सालको बन्दीपुर क्रान्ति र २०१८ सालको भरतपुर क्रान्तिलाई तथ्यपरक तथा साहित्यिक शैलीमा प्रस्तुत गरिएकाले पाठकको विशेष आकर्षण हासिल गरेको हो ।
नेपालका पहिलो सहकारी अभियन्ता तथा समाजसेवी बखानसिंह गुरुङको जीवनसंघर्षलाई केन्द्रमा राखेर लेखिएको यस उपन्यासले चितवनको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा ऐतिहासिक रूपान्तरणलाई आख्यानात्मक शैलीमा जीवन्त रूपमा चित्रण गरेको छ । साथै, देशमा भएका विभिन्न क्रान्तिका पृष्ठभूमिसँगै चितवनको बस्ती विकास र जैविक विविधता संरक्षणका विषयलाई पनि समेटिएको छ ।
लेखक पराजुलीले आफ्नो कृतिको दोस्रो संस्करण प्रकाशन हुनु व्यक्तिगत रूपमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै उपन्यासप्रति माया, विश्वास र निरन्तर साथ दिने सम्पूर्ण पाठकप्रति हार्दिक आभार व्यक्त गरे ।
पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रिमी आइज’ प्रकाशित भइसकेका छन् । ‘बखान’ भने ऐतिहासिक विषयवस्तुमा आधारित उनको चर्चित उपन्यासका रूपमा स्थापित भएको छ ।
दोस्रो संस्करण प्रकाशनसँगै ‘बखान’ अझ व्यापकरूपमा पाठकमाझ पुग्ने अपेक्षा लेखक पराजुलीले गरेका छन् ।





