पर्यटन प्रवर्द्धनमा विद्यार्थीको भूमिका महत्वपूर्ण

भरतपुर, २० असार ।
भरतपुरको धार्मिक तथा पर्यटन विकास एवं प्रवर्द्धनमा शिक्षक र विद्यार्थीको भूमिकाबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम शनिबार भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशव महर्जन, विशिष्ट अतिथि वडा नं. ७ की सदस्य अमृता गौतम तथा होटल व्यवसायी संघ चितवनका प्रथम उपाध्यक्ष रामबहादुर गुरुङले पर्यटन विकासमा विद्यालय र विद्यार्थीको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा अङ्कुरम् एकेडेमीका प्रबन्ध निर्देशक नवराज पौडेल, होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष विकास गुरुङ, महासचिव कृष्णकुमार महतो, विद्यालयका प्राचार्य सुमन पौडेल, पत्रकार सन्तोष देवकोटा र कोमलचन्द्र भगत, शिक्षकहरू मित्रबन्धु चापागाईं, युवराज पौडेल, बाबुहरि आचार्य, कृष्णपुर इकाइका संयोजक इन्द्रप्रसाद रिजाल तथा विद्यार्थी समितिका पदाधिकारीसहित करिब ६० जनाको उपस्थिति रहेको थियो ।

भरतपुर धार्मिक तथा पर्या पर्यटन विकास समितिका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका उपाध्यक्ष भरत दवाडीले स्वागत मन्तव्यसहित सञ्चालन गरेका थिए । कार्यक्रममा अध्यक्ष चुकेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

अन्तरक्रियामा विद्यालय तथा विद्यार्थीले पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने, नयाँ पर्यटकीय गन्तव्यलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने तथा विद्यालय व्यवस्थापन र सञ्चालक समितिले नजिकका धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण, प्रवर्द्धन र पूर्वाधार विकासमा सहकार्य गर्नुपर्ने विषयमा जोड दिइएको थियो ।

कार्यक्रमपछि सहभागीहरूले भरतपुरस्थित बाटुली पोखरीको अवलोकन गरेका थिए । ताल व्यवस्थापन समितिका उपाध्यक्षले सहभागीलाई स्वागत गर्दै खाजाको व्यवस्था गरेका थिए । त्यसपछि भरतपुर महानगरपालिका–६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठको आतिथ्यमा देवनगरस्थित बाघ संरक्षण केन्द्रको अवलोकन गरी सहभागीहरूले बाघलाई प्रत्यक्ष हेर्ने अवसर समेत प्राप्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट