चितवन, २१ असार ।
चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जङ्गली हात्तीले घरमै पसेर आक्रमण गर्दा एकै परिवारका आमा–छोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति करिब ११ बजे स्थानीय पूर्ण बोटेको घरमा जङ्गली हात्ती प्रवेश गरी घरभित्र सुतिरहेका आमाछोरामाथि आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतक आशिका बोटे पूर्ण बोटेकी श्रीमती हुन् । दुवै शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।





