बागमती प्रदेशको ६६ अर्ब ९३ करोडको बजेट बहुमतले पारित

मकवानपुर, २१ असार ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।

शनिबार बसेको प्रदेश सभाको बैठकले विनियोजन विधेयक, २०८३ र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अर्थ विधेयक बहुमतले पारित गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश सरकारको आगामी आर्थिक वर्षको सेवा तथा कार्यक्रम सञ्चालनका लागि प्रदेश सञ्चित कोषबाट आवश्यक रकम विनियोजन गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गरेका थिए । उक्त प्रस्तावलाई उपसभामुख अप्सरा चापागाईंले निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।

निर्णयका क्रममा प्रस्तावको पक्षमा बहुमत सांसद उभिएपछि उपसभामुख चापागाईंले विनियोजन विधेयक र अर्थ विधेयक पारित भएको घोषणा गरिन् ।
प्रदेश सभामा सरकारले प्रस्तुत गरेको बजेटमाथि असार १६ गतेदेखि निरन्तर छलफल हुँदै आएको थियो । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र सुझावको विभागीय मन्त्रीहरूले शुक्रबार र शनिबारको बैठकमा जवाफ दिएका थिए ।

बागमती प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट