रिजालका जुम्ल्याहा छोराछोरीले गरे `नैबेद´ विमोचन

भरतपुर, २१ असार ।
पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । यसअघि लकडाउन डायरी `एकान्तबास’ प्रकाशित गरिसकेका रिजालको नयाँ कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको लोकार्पण अक्षर समूह चितवनले आइतबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्पन्न भयो ।

लेखक रिजालका बुवाआमा तथा छोराछोरीसँगै कवि भूपिन, एक्सपर्ट चितवनका मेनेजर नरहरि पौडेल ‘किरण’ र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।

विमोचनपछि कवि भूपिनले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै ‘नैबेद’ समकालीन नेपाली समाजका विविध संकट र यथार्थलाई केन्द्रमा राखिएको सशक्त कथासङ्ग्रह भएको बताए । उनका अनुसार यस सङ्ग्रहका कथाले मनोरञ्जनभन्दा बढी पाठकलाई विचार, प्रश्न र आत्ममन्थनतर्फ डोर्‍याउँछन् ।
उनले विज्ञान, शिक्षा, अन्धविश्वास, वैदेशिक रोजगारी, प्रेम, राजनीति, अपराध, महामारी र मनोविज्ञानजस्ता विविध विषयलाई कथामार्फत प्रस्तुत गरिएको उल्लेख गर्दै समकालीन नेपाली समाजको मानसिक, सामाजिक र सांस्कृतिक संक्रमणलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको बताए ।

कार्यक्रममा लेखक रिजालसँग अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संवाद गरेका थिए । संवादमा ‘नैबेद’को लेखन प्रक्रिया, कथाको संरचना तथा लेखकका साहित्यिक रुचिका विविध पक्षबारे छलफल भएको थियो । कार्यक्रमको सहजीकरण साथै स्वागत अक्षर समूहका पूर्वअध्यक्ष रमेश प्रभातले गरेका थिए ।

शिखा बुक्सबाट प्रकाशित `नैबेद’ मा १४ वटा कथा समेटिएका छन् । पुस्तकको मूल्य रु. ५९५ निर्धारण गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट