चितवन, २० असार ।
चितवनको नारायणगढ बजार शनिबार पनि नियमित रूपमा सञ्चालनमा आएको छ । शनिबारलाई साप्ताहिक बजार बिदा बनाउने विषयमा विभिन्न निर्णय सार्वजनिक भए पनि त्यसको प्रभाव बजारमा देखिएको छैन ।
अधिकांश व्यापारिक प्रतिष्ठान तथा पसलहरू खुलेका छन् भने किनमेल पनि सामान्य अवस्थामै भएको छ ।
विशेषगरी फेन्सी तथा कपडा व्यवसायीहरूले भने पुरानै व्यवस्था अनुसार सोमबारलाई नै साप्ताहिक बजार बिदा कायम राख्ने अडान दोहोर्याएका छन् । चितवन फेन्सी तथा कपडा व्यवसायी सङ्घका अनुसार व्यवसाय सञ्चालनको सहजता, ग्राहकको चाप व्यवस्थापन तथा व्यवसायीहरूको साझा हितलाई ध्यानमा राख्दै सोमबारलाई नै उपयुक्त साप्ताहिक बिदाका रूपमा निरन्तरता दिने निर्णय गरिएको हो ।
यता, चितवन उद्योग वाणिज्य सङ्घले शनिबारलाई साप्ताहिक बजार बिदा दिने निर्णय सार्वजनिक गरे पनि नारायणगढ बजारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेन । शनिबार फेन्सी तथा कपडा पसल मात्र होइन, अन्य अधिकांश व्यापारिक प्रतिष्ठानहरू पनि नियमित रूपमा सञ्चालनमा रहे ।
फेन्सी तथा कपडा व्यवसायीहरूले आफ्नो पेशागत सङ्घको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै सोमबार बजार बन्द गर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिएका छन् । उनीहरूका अनुसार व्यवसायीहरूको हित, बजार व्यवस्थापन र उपभोक्ताको सुविधाबीच सन्तुलन कायम गर्दै निर्णय कार्यान्वयन गरिनेछ ।
साप्ताहिक बजार बिदाको विषयमा व्यवसायीहरूबीच फरक–फरक धारणा रहे पनि शनिबार बजार सामान्य रूपमा सञ्चालन भएपछि तत्कालका लागि पुरानै अभ्यास कायम रहने संकेत देखिएको छ । स्थानीय व्यवसायीहरूका अनुसार नयाँ व्यवस्था लागू गर्नुअघि सबै सरोकारवालाबीच व्यापक छलफल, सहमति र स्पष्ट कार्ययोजना आवश्यक छ। अन्यथा फरक–फरक निर्णयले व्यवसायी, उपभोक्ता तथा समग्र बजार व्यवस्थापनमा अन्योल सिर्जना हुने उनीहरूको भनाइ छ ।
हालका लागि नारायणगढका अधिकांश व्यवसायी सोमबारलाई नै साप्ताहिक बजार बिदा कायम राख्ने पक्षमा देखिएका छन् ।




