शिक्षामन्त्रीलाई माडीकी सपनाको खुला पत्र : “सरकारका निर्णय सबै विद्यालयमा समान रूपमा लागू गरियोस्”

चितवन, २० असार ।
चितवनको माडीकी सपना भट्टराईले शिक्षामन्त्री सस्मित पोख्रेललाई खुला पत्र लेख्दै शिक्षा क्षेत्रमा सरकारका निर्णय सबै विद्यालयमा समान रूपमा कार्यान्वयन हुने वातावरण बनाउन आग्रह गरेकी छन् ।

उनले सरकारले शनिबार–आइतबार बिदा दिने तथा वैशाख २१ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय निजी विद्यालयहरूले कार्यान्वयन गरे पनि वैशाख महिनाको शुल्क नलिन दिएको निर्देशन भने धेरै विद्यालयले पालना नगरेको उल्लेख गरेकी छन् ।

भट्टराईले शुल्कसम्बन्धी विषयमा विद्यालयसँग जाँदा स्थानीय सरकारसँग सम्पर्क गर्न भनिने र स्थानीय तहमा पुग्दा पनि स्पष्ट जवाफ नपाइने अवस्था रहेको भन्दै सामान्य अभिभावकले न्याय खोज्ने ठाउँ नै अन्योल भएको गुनासो गरेकी छन् ।

उनले शिक्षकले उचित पारिश्रमिक पाउनुपर्नेमा आफूहरूको पूर्ण समर्थन रहेको उल्लेख गर्दै दैनिक मजदुरी गरेर वा ऋण लिएर छोराछोरीलाई पढाइरहेका अभिभावकको अवस्था पनि राज्यले बुझ्नुपर्ने बताएकी छन् ।

सरकारका निर्णय पालना गर्ने वा नगर्ने कुरा विद्यालयको इच्छामा निर्भर हुन नहुने भन्दै उनले कानुन र नीति सबैका लागि समान रूपमा लागू हुनुपर्ने धारणा व्यक्त गरेकी छन् ।

खुला पत्रमार्फत उनले शिक्षा मन्त्रालय र सम्बन्धित स्थानीय तहलाई प्रभावकारी अनुगमन गर्न, सरकारी निर्णयको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न तथा नियम उल्लङ्घन गर्ने विद्यालयमाथि आवश्यक कारबाही गर्न आग्रह गरेकी छन् ।

भट्टराईले “शिक्षा व्यापार गर्ने माध्यम होइन, राष्ट्रको भविष्य निर्माण गर्ने आधार हो” भन्दै अभिभावक, विद्यार्थी र विद्यालय सबैको हित हुने गरी कानुनको समान कार्यान्वयन हुनुपर्ने अपेक्षा व्यक्त गरेकी छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट