रत्ननगर, १९ असार ।
चितवनको निकै व्यस्त तथा जैविक महत्व बोकेको टिकौली जंगल क्षेत्रमा नेपाल टेलिकमको मोबाइल नेटवर्क टावर औपचारिक रूपमा सञ्चालनमा आएको छ । उक्त टावरको उद्घाटन शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी अर्यालले टेलिफोन टावर सेवाको स्विच अन गरेर सेवाको विधिवत उद्घाटन गरेका हुन् ।
यसअघि भरतपुर र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली जंगल क्षेत्रमा मोबाइलको नेटवर्क नटिप्ने वा ‘नो सर्भिस’ हुने समस्या थियो । यसले गर्दा उक्त सडक खण्ड भएर यात्रा गर्ने हजारौँ यात्रु, चालक र सुरक्षाकर्मीहरूले सञ्चार सम्पर्कविहीन हुनुपर्ने बाध्यता झेल्दै आएका थिए । टावर सञ्चालनमा आएसँगै अब टिकौली जंगल क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सिग्नल सहज भएको छ ।
`टिकौली जंगल क्षेत्रमा नेटवर्क नहुँदा दुर्घटना वा आकस्मिक अवस्थामा तत्काल सम्पर्क गर्न निकै कठिनाइ भइरहेको थियो । अब टावर सञ्चालनमा आएसँगै सुरक्षा व्यवस्थापन, विपद् व्यवस्थापन र सर्वसाधारण यात्रुहरूलाई सञ्चार सम्पर्कमा रहन निकै सहज हुनेछ´, उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
जैविक मार्ग समेत रहेको यस जंगल क्षेत्रमा वन्यजन्तुको जोखिम र कहिलेकाहीँ सवारी साधन बिग्रँदा यात्रुहरू अलपत्र पर्ने गरेका थिए । नेपाल टेलिकमको यो नयाँ टावर विस्तारसँगै टिकौली वन क्षेत्रमा अब फोन काटिने र इन्टरनेट नचल्ने समस्याको अन्त्य भएको छ, जसले गर्दा स्थानीय तथा यात्रुहरूले राहतको महसुस गरेका छन् ।





