एआई फर गुड ग्लोबल समिटमा सहभागी नेपाली टोलीले सञ्चारमन्त्रीसँग गर्‍यो भेट

काठमाडौं, १९ असार ।
संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियु) ले आगामी जुलाई ७ देखि १० सम्म स्वीट्जरल्यान्डमा आयोजना गर्ने ‘एआई फर गुड ग्लोबल समिट २०२६’ अन्तर्गत हुने ‘रोबोटिक्स फर गुड युथ च्यालेन्ज’ मा सहभागी हुने नेपाली विद्यार्थी टोलीले शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।

भेटका क्रममा मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुनु नै नेपालका लागि गर्वको विषय भएको उल्लेख गर्दै जित–हारभन्दा पनि सिकाइ, अनुसन्धान, नवप्रवर्तन र भविष्यका सम्भावनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। सूचना प्रविधि, रोबोटिक्स र कृत्रिम बौद्धिकता (एआई) को विकासमा सरकार सकारात्मक रहेको उल्लेख गर्दै उहाँले टोलीलाई सफलताको शुभकामना दिनुभयो ।

यस वर्षको प्रतियोगिताको विषय ‘कृषि तथा खाद्य सुरक्षा’ रहेको छ । विश्वभरका ५० भन्दा बढी देशका टोली सहभागी हुने प्रतियोगितामा नेपालबाट जुनियर र सिनियर गरी दुई टोलीले प्रतिनिधित्व गर्नेछन् । चार–चार जना विद्यार्थीसहित नेपालबाट ११ सदस्यीय प्रतिनिधिमण्डल जेनेभा जाने तयारीमा रहेको रोबोटिक्स एसोसिएसन नेपालले जनाएको छ ।

एसोसिएसनका महासचिव तथा ‘एआई फर गुड’का निर्देशक ओमकार जैसवालका अनुसार नेपालमा राष्ट्रियस्तरको प्रतिस्पर्धाबाट उत्कृष्ट टोली छनोट गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउने व्यवस्था गरिएको छ । गत वर्ष नेपाली जुनियर टोलीले विश्वमा दोस्रो तथा सिनियर टोलीले तेस्रो स्थान हासिल गरेको थियो ।

यस वर्ष नेपाली टोलीले कृषि तथा खाद्य सुरक्षासँग सम्बन्धित रोबोटिक्स समाधान प्रस्तुत गर्नेछ । नेपाल कृषिप्रधान मुलुक भएकाले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउने उद्देश्यसहित तयार गरिएको प्रोटोटाइपलाई भविष्यमा व्यवसायीकरण गर्ने लक्ष्य राखिएको छ । उक्त अवधारणाप्रति संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले समेत चासो देखाएको आयोजकले जनाएको छ ।

जैसवालले नेपालमा रोबोटिक्स र एआईप्रति विद्यार्थीको आकर्षण बढे पनि सरकारी सहयोग अझै पर्याप्त नभएको बताउँदै अधिकांश खर्च हालसम्म रोबोटिक्स एसोसिएसन नेपाल, अभिभावक तथा निजी क्षेत्रले व्यवस्थापन गर्दै आएको जानकारी दिनुभयो । आगामी वर्षदेखि सरकारी विद्यालयका विद्यार्थीलाई पनि प्रतियोगितामा सहभागी गराउने योजना रहेको उहाँले बताउनुभयो । साथै, ग्रामीण क्षेत्रका प्रतिभालाई समेट्ने उद्देश्यले चितवन, कोशी, विराटनगर र धनगढीलगायत स्थानमा क्षेत्रीय प्रतियोगिता सञ्चालन हुँदै आएको जानकारी पनि दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट