भरतपुर, १९ असार ।
आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘गौथली’ को निर्माण टिमले शुक्रबार चितवनमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै चलचित्रको प्रचारप्रसारलाई तीव्र बनाएको छ ।
मोफसल प्रचार अभियान अन्तर्गत चितवन पुगेको टोलीले चलचित्रको कथावस्तु, प्राविधिक पक्ष तथा उद्देश्यबारे जानकारी गराएको थियो ।
कार्यक्रममा निर्देशक डा. कपिल रिजालले ‘गौथली’ केवल प्रेमकथा नभई नेपाली ग्रामीण समाजको यथार्थ, संघर्ष र मौलिक संस्कृतिलाई पर्दामा उतारिएको चलचित्र भएको बताए । उनले डा. भोला रिजालको ‘गौथली’ गीति सङ्ग्रहलाई सामाजिक परिवेशसँग मेल खाने गरी चलचित्रमा रूपान्तरण गरिएको जानकारी दिए । चितवनका दर्शकको प्रतिक्रिया सधैँ प्रेरणादायी हुने भएकाले प्रचार अभियानका लागि यहाँ आएको उनले बताए ।
निर्माता सुमन गिरीले चलचित्र विशुद्ध सामाजिक र मौलिक कथामा आधारित भएकाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।
मुख्य अभिनेता अरुण क्षेत्रीले चलचित्रमा आफूले माइल्ड अटिजम भएका पात्रको भूमिका निर्वाह गरेको जानकारी दिँदै विशेष क्षमता भएका व्यक्तिको भावना, प्रेम र संवेदनशीलतालाई चलचित्रले प्रभावकारी रूपमा प्रस्तुत गर्ने बताए ।
अभिनेत्री सिमरन खड्काले सानै उमेरमा विवाह भएर पनि पढ्ने सपना बोकेकी युवतीको संघर्षलाई चलचित्रमा चित्रण गरिएको बताइन्। उनले आफूले निभाएको ‘गौथली’ पात्रले नेपाली महिलाको संघर्ष, आत्मसम्मान र दृढतालाई प्रतिनिधित्व गर्ने उल्लेख गरिन् ।
निर्माण पक्षले चलचित्र निर्माणमा कुनै सम्झौता नगरी गुणस्तरीय प्रस्तुति दिने प्रयास गरिएको र यसले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने विश्वास व्यक्त गरेको छ ।
चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष गोविन्द अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुशील पन्तले गरेका थिए ।
नेपालका विभिन्न रमणीय पर्यटकीय क्षेत्रमा अत्याधुनिक प्रविधिबाट छायांकन गरिएको चलचित्र ‘गौथली’ का गीत र टिजर प्रदर्शनअघि नै दर्शकमाझ लोकप्रिय भइसकेका छन् ।





