कृष्णलाल स्मृति पत्रकारिता पुरस्कार धनु भुसाललाई

कावासोती, १४ असार ।
नेपाल पत्रकार महासंघ नवलपुर शाखाले प्रदान गर्ने स्वर्गीय कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कार–२०८३ नेपाल टेलिभिजनका पत्रकार धनु भुसाललाई प्रदान गरेको छ ।

महासंघ नवलपुरका निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुलीले आफ्ना स्वर्गीय पिता कृष्णलाल पराजुलीको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारमा यस वर्ष भुसाल सम्मानित भएकी हुन् । पुरस्कारस्वरूप ५ हजार ५ सय ५५ रुपैयाँ नगद, दोसल्ला र ताम्रपत्र प्रदान गरिएको महासंघका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

यसैगरी, भीमकुमारी–ढुण्डिराज पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका पत्रकार बोमलाल गिरी सम्मानित भए । युवा उद्यमी तथा पत्रकार सागर पोख्रेलले आफ्ना माता–पिताको नाममा स्थापना गरेको उक्त पुरस्कार नवलपुरमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका गिरीलाई प्रदान गरिएको हो ।

महासंघले हरेक वर्ष प्रदान गर्दै आएको क्रियाशील पत्रकारिता पुरस्कारबाट विजय एफएमका पत्रकार श्रीधर शर्मा पुरस्कृत भए । साथै, नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेको अवसरमा निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुलीलाई सम्मान गरिएको छ ।

यसैबीच, नेपाल पत्रकार महासंघ नवलपुर शाखाको चौथो साधारण सभा पनि सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक आचार्यले सरकारले विज्ञापन रोक्ने लगायतका नीतिमार्फत प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि महासंघ सशक्त रूपमा अघि बढ्नुपर्ने बताए ।

सञ्चारमाध्यमलाई कमजोर बनाउने सरकारी नीतिको असर निजी क्षेत्रमा समेत पर्ने भएकाले प्रेस स्वतन्त्रताको पक्षमा निजी क्षेत्रको पनि साथ आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य केबी राना, प्रदेश अध्यक्ष रमेश पौडेल, प्रदेश संस्थापक अध्यक्ष नारायण शर्मा, प्रमुख जिल्ला अधिकारी जगदीश उपाध्याय, पूर्व अध्यक्ष होमराज रानाभाट, सल्लाहकार घनश्याम बगाले, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेल, नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटा, प्रेस चौतारी नेपाल नवलपुरका अध्यक्ष तीर्थ डुम्रे तथा प्रेस संगठन नेपाल नवलपुरका अध्यक्ष प्रीतम भुजेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक, सचिवको संगठनात्मक तथा अध्यक्षको प्रतिवेदन अनुमोदन गरेको महासंघका सचिव आशिष रेग्मीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट