भरतपुर, १४ असार ।
भरतपुर–१ स्थित योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा दुई महिनादेखि सञ्चालन भएको ऐतिहासिक श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आइतबार पूर्णाहुतिसँगै सम्पन्न भएको छ । सम्भवत: नेपालमै पहिलो पटक यति लामो अवधिसम्म सञ्चालन भएको कोटिहोम महायज्ञ सम्पन्न गर्न प्रारम्भिक अनुमानअनुसार करिब डेढ करोड रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ ।
वैशाख १७ गतेदेखि सञ्चालन भएको महायज्ञ योगी नरहरिनाथको २३ वर्षअघिको संकल्पअनुसार नाथ परम्परामा सम्पन्न गरिएको हो । योगी नरहरिनाथले जीवनकालमा १२९ वटा महायज्ञ सम्पन्न गरेका थिए भने १३०औँ महायज्ञ गर्ने उनको संकल्प यस महायज्ञमार्फत पूरा भएको आयोजकको भनाइ छ ।
महायज्ञका मूलकर्ता प्रमेनीधि भारद्वाजका अनुसार कुनै व्यक्ति वा संस्थासँग निश्चित रकम माग नगरिएको र भक्तजनहरूको स्वस्फूर्त आर्थिक तथा सामग्री सहयोगबाट महायज्ञ सम्पन्न गरिएको हो । राष्ट्र र विश्व शान्ति तथा कल्याणको कामनासहित आयोजना गरिएको महायज्ञमा गोरखनाथको बीजमन्त्रद्वारा सवा करोड हवन, सहस्रचण्डी, अतिरुद्री, लक्षहवन, विभिन्न महापुराण पाठ, गौकथा, पुरुषोत्तम महात्म्य प्रवचन तथा करिब पाँच करोड दीप प्रज्वलनलगायत धार्मिक अनुष्ठान सम्पन्न भएका थिए ।
महायज्ञको सम्पूर्ण अवधिभर ज्योतिष पण्डित परशुराम पाण्डेयले कथा प्रवचन गरेका थिए । आयोजकका अनुसार महायज्ञबाट संकलित रकम र खर्चको विस्तृत विवरण केही दिनभित्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ ।





