‘तोरकीन’का लागि क्षितिज समर्पणलाई मकवानपुर कृति सम्मान २०८२

मकवानपुर, १३ असार ।

साहित्यकार क्षितिज समर्पण ‘साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८२’बाट सम्मानित हुनुभएको छ ।
साहित्य सङ्गम मकवानपुरले शनिबार हेटौंडामा आयोजित कार्यक्रममा उहाँको पहिलो उपन्यास ‘तोरकीन’ का लागि नगद ३५ हजार रुपैयाँसहित सम्मान प्रदान गरेको हो । सङ्गमका अध्यक्ष डीबी बर्तौलाका अनुसार गत वर्ष २५ हजार रुपैयाँ रहेको पुरस्कार राशि यस वर्ष बढाएर ३५ हजार रुपैयाँ पुर्‍याइएको हो ।

मुस्ताङको स्थानीय भाषामा ‘तोरकीन’को अर्थ हराउँदै जानु वा लोप हुनु हो । उपन्यासमा उपल्लो मुस्ताङको हिमाली भूगोल, तिब्बती समुदायसँगको सम्बन्ध, रहनसहन र जीवनशैलीलाई चित्रण गरिएको छ । साथै रित्तिँदै गएका बस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध तथा हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको विषयलाई समेटिएको छ ।

वास्तविक नाम रामकुमार शाही रहेका क्षितिज समर्पण बाह्रखरी कथा लेखन प्रतियोगिता २०७६ र २०७७ मा पुरस्कृत भइसक्नुभएको छ । उहाँका ‘आगोका फुलहरू’ (गजल सङ्ग्रह) र ‘कैफियत’ (संयुक्त गजल सङ्ग्रह) प्रकाशित छन् । कार्यक्रममा साहित्यकार सुवास खनालले ‘तोरकीन’माथि समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

सम्मानका लागि आह्वान गरिएका १३ उपन्यासमध्ये ‘तोरकीन’सहित ६ कृति अन्तिम सूचीमा परेका थिए । अन्तिम सूचीमा बसन्त पराजुलीको ‘बखान’, सीमा आभाषको ‘महायुग’, निष्प्रभा सजीको ‘याली’, गणेश खनितको ‘लाफा’ र झम्क तिमल्सिनाको ‘विमुक्ति’ पनि समावेश थिए ।

यसैबीच, साहित्य सङ्गम मकवानपुरको ३६८औँ नियमित साहित्य सन्ध्या पनि सम्पन्न भएको छ । डा. केशव श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दिवंगत साहित्यकार गोविन्द खड्का, डा. गणेशकुमार पौडेल र दीपक मुडबरीको स्मरण गर्दै उहाँहरूको साहित्यिक योगदानबारे चर्चा गरिएको थियो । प्रमुख अतिथि डा. श्रेष्ठले उहाँहरू आफ्ना सहपाठी रहेको उल्लेख गर्दै मकवानपुरको साहित्यिक इतिहास र परिवेशबारे पनि प्रकाश पार्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट