नवलपरासी, १३ असार ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारीले देवचुली नगरपालिका–१२, गैँडीस्थित दिव्यज्योति आधारभूत विद्यालयका आठ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको ‘लायन्स क्लब अफ नारायणगढ बालकुमारी अक्षय कोष’बाट यस वर्ष रु. १६ हजार ४२२ बराबरको छात्रवृत्ति कक्षा ८ मा अध्ययनरत आठ विद्यार्थीलाई प्रदान गरिएको हो ।
तीन वर्षअघि लायन्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ आरको रु. ५० हजार प्रोजेक्ट फण्ड र क्लब सदस्यहरूको सहयोगबाट रु. १ लाख ५१ हजार १११ को अक्षय कोष स्थापना गरिएको थियो। हाल उक्त कोषको आकार बढेर रु. २ लाख १० हजार पुगेको क्लबले जनाएको छ ।
असार १२ गते आयोजित कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक मैना कुमारी श्रेष्ठले छात्रवृत्ति वितरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालय परिवार तथा लायन्स क्लबका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो ।
क्लबले आगामी दिनमा अक्षय कोषलाई थप विस्तार गरी अझ बढी विद्यार्थीलाई शैक्षिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।





