काठमाडौं, १२ असार ।
सामाजिक सञ्जालमार्फत जातीय तथा साम्प्रदायिक घृणा फैलाउने उद्देश्यले भिडियो सामग्री तयार गरी प्रसारण गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार Jiban Oli नामक फेसबुक पेजमा मधेशी मूलका व्यक्तिलाई दुर्व्यवहार गरिएको देखिने भिडियो सार्वजनिक गरी जात, जाति तथा समुदायबीचको सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रुकुम (पश्चिम) बाँफिकोट गाउँपालिका–३ का २८ वर्षीय डिल्लीबहादुर ओली, सोही स्थानका ३१ वर्षीय राजन के.सी. तथा कपिलवस्तुको कृष्णनगर नगरपालिका–४ शिरसवा घर भई हाल रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–१ सल्लेमा पाउरोटी उद्योग सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुबिर कोरी रहेका छन् ।
उनीहरूलाई बिहीबार अपराह्न करिब ४:४५ बजे रुकुम (पश्चिम)को मुसिकोट नगरपालिका–३ माछिमीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।





