चितवन, १२ असार ।
चितवनबाट मोडलिङ क्षेत्रमा सक्रिय मोडल देव आरएन अभिनित दुई म्युजिक भिडियो एकैदिन सार्वजनिक भएका छन् । उनको अभिनय रहेको ‘तिम्रो साथ’ र ‘रिङ्ग रिङ्ग’ बोलका गीत शुक्रबार रिलिज भएका हुन् ।
सरोज पोख्रेल प्रस्तुतकर्ता रहेको ‘तिम्रो साथ’ गीतमा गायक प्रताप दास र गायिका अनु चौधरीको स्वर रहेको छ । गीतमा सरोज पोख्रेलको शब्द तथा संगीत, देबेश राईको एरेन्ज रहेको छ । राजिव समर निर्देशित भिडियोमा देवसँग कृतिका पौडेलको अभिनय रहेको छ ।
रोमान्टिक शैलीको उक्त भिडियो ओमराज लामा र मिलन सुनारले छायांकन गरेका हुन् भने सम्पादन पनि उनीहरूले नै गरेका छन्। भिडियो चितवनका विभिन्न पर्यटकीय क्षेत्रमा छायांकन गरिएको हो ।
यस्तै, देव अभिनित मैथिली भाषाको ‘रिङ्ग रिङ्ग’ गीत पनि सोही दिन सार्वजनिक भएको छ । गीतमा देवसँग काजल कर्णको अभिनय रहेको छ भने सुमित मल्लिकको शब्द, संगीत र स्वर रहेको छ ।
त्रिकोण इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको उक्त भिडियो पनि राजिव समरले निर्देशन गरेका हुन् । मिलन सुनारले छायांकन तथा सम्पादन गरेको भिडियो चितवनमै खिचिएको हो ।
केही दिनअघि मात्रै देव अभिनित लघु चलचित्र ‘आई लभ यु मम’ सार्वजनिक भएको थियो । उनका अन्य केही म्युजिक भिडियो पनि छिट्टै रिलिज हुने तयारीमा रहेका छन् ।





