चितवन, ७ असार ।
नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तालाई आफ्ना नेताले गल्ती गर्दा प्रश्न गर्न आग्रह गरेका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले कुनै पनि पार्टी बलियो बन्न नेतृत्वप्रति अन्ध समर्थनभन्दा आलोचनात्मक चेत आवश्यक पर्ने बताए । आफूहरूबाट विगतमा भएका कमजोरीबाट शिक्षा लिन आग्रह गर्दै उनले रास्वपाका नेता–कार्यकर्तालाई नेतृत्वको गलत निर्णयमाथि प्रश्न उठाउन नहिच्किचाउन सुझाव दिए ।
“आफ्ना नेताले गल्ती गरे प्रश्न गर्नुस्, हामीले जस्तो गल्ती नगर्नुस्,” थापाले भने ।
उनले पार्टीभित्र बहस, आलोचना र आत्मसमीक्षाको संस्कृतिले मात्रै लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरे। साथै, जनताले नयाँ राजनीतिक शक्तिप्रति देखाएको विश्वासलाई जोगाउँदै सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत सहभागिता रहेको छ ।





