चितवन, ७ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सम्बोधन गर्दै वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले पार्टीभित्र गुट–उपगुटको राजनीति नगर्न आग्रह गरेका छन् ।
उनले असल नेता र असल राजनीतिज्ञ बन्न कुनै एक समूहको नभई सम्पूर्ण जनताको मन जित्नुपर्ने बताउँदै पार्टीलाई विभाजनतर्फ लैजाने गतिविधिबाट टाढा रहन नेता–कार्यकर्तालाई सचेत गराए ।
“एउटा असल नेता बन्न, एउटा असल राजनीतिज्ञ बन्न जनताको मन जित्नुपर्छ, कुनै एक समूहको होइन । त्यसैले कसैले गुट बनाउने काम नगर्नुहोला,” उनले भने ।
प्रधानमन्त्री शाहले जनताले विश्वास गरेर रास्वपालाई अगाडि ल्याएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र एकता, सहकार्य र सामूहिक नेतृत्वको संस्कृतिलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे ।
चितवनको भरतपुरस्थित महाधिवेशनस्थलमा आयोजित उद्घाटन समारोहमा देशभरबाट आएका प्रतिनिधि, नेता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको छ ।





