चितवन, ७ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताको विश्वासलाई परिणाममा रूपान्तरण गर्न पार्टीका नेता तथा कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले पार्टी कुनै व्यक्ति विशेषका कारण नभई जनताको चाहना र विश्वासबाट स्थापित भएको उल्लेख गर्नुभयो । उहाँले जनताको अपेक्षा अनुरूप सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित राजनीति नै रास्वपाको मूल उद्देश्य रहेको बताउनुभयो ।
सभापति लामिछानेले सत्ता प्राप्ति अन्तिम लक्ष्य नभई नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनु र सुशासन सुनिश्चित गर्नु नै पार्टीको प्रमुख दायित्व भएको स्पष्ट पार्नुभयो । उहाँले पुराना राजनीतिक विकृति दोहोरिन नदिई नयाँ राजनीतिक संस्कार स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पार्टीभित्र एकता, अनुशासन र वैचारिक स्पष्टता कायम राख्दै जनताले दिएको भरोसालाई व्यवहारमा प्रमाणित गर्न सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
रास्वपाको पहिलो महाधिवेशन चितवनमा जारी रहेको छ ।





