तनहुँ, ७ असार ।
शिक्षाप्रेमी तथा साहित्यप्रेमी व्यक्तित्व युवराज बगालेद्वारा लिखित कवितासङ्ग्रह ‘फाल्गुनी’ को आइतबार आँबुखैरेनीस्थित छिम्केश्वरी पार्टी प्यालेसमा आयोजित भव्य समारोहबीच विमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृतिको विमोचन गर्नुभएको हो । साहित्यकार तथा समीक्षक तेजविलास अधिकारी र रमेश प्रभातले कृतिमाथि समीक्षा प्रस्तुत गर्दै ‘फाल्गुनी’ले समकालीन नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा कविहरू नारायणप्रसाद पोख्रेल, लक्ष्मण बगाले, रामचन्द्र श्रेष्ठ र राधिका देवकोटाले आफ्ना कविता वाचन गरी कार्यक्रमलाई साहित्यिक गरिमा प्रदान गर्नुभएको थियो । सहभागी साहित्यप्रेमीहरूले कविताप्रति गहिरो रुचि र उत्साह व्यक्त गरेका थिए ।
कार्यक्रममा आँबुखैरेनी ब्राह्मण समाजद्वारा प्रस्तुत भजनले सांगीतिक तथा सांस्कृतिक वातावरण सिर्जना गरेको थियो । साथै स्थानीय चित्रकार पवन नेपालीले ‘फाल्गुनी’ कवितासङ्ग्रहको आवरणसँग सम्बन्धित आकर्षक चित्र सर्जक युवराज बगालेलाई हस्तान्तरण गर्नुभएको थियो । कला र साहित्यको संगम बनेको उक्त क्षणले समारोहलाई थप विशेष बनाएको थियो ।
आँबुखैरेनी वाङ्मय परिषद्का अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परिषद्का सचिव राजेन्द्र गुरुङले गर्नुभएको थियो । कार्यक्रममा करिब २०० जना साहित्यकार, शिक्षाप्रेमी, साहित्यिक अनुरागी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
‘फाल्गुनी’ कवितासङ्ग्रहको विमोचनले स्थानीय साहित्यिक गतिविधिलाई थप ऊर्जा प्रदान गर्नुका साथै सर्जक युवराज बगालेको साहित्यिक यात्रामा नयाँ अध्याय थपेको सहभागीहरूले बताएका छन् । साहित्य, संगीत र कलाको सुन्दर समागम बनेको उक्त समारोहले आँबुखैरेनीको साहित्यिक वातावरणलाई अझ सशक्त बनाएको विश्वास व्यक्त गरिएको छ ।





