मकवानपुर, ६ असार ।
कवि पुरुषोत्तम आचार्यको साङ्गीतिक एकल कविता वाचन कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । नेपाली भाषा शिक्षक समिति मकवानपुरले आफ्नो अक्षयकोष सहयोगार्थ कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा कवि आचार्यले ‘हर्नामाडी’ शीर्षकको कविताबाट वाचन प्रारम्भ गरेका थिए । त्यसपछि उनले एक गजलसहित ‘बृद्धअवस्था’, ‘पछि’, ‘खतरनाक मान्छेहरू’, ‘मानसिङ विश्वकर्माको घोषणा’, ‘तिम्रो नाममा’, ‘वर्षा’, ‘चरा’, ‘बासुरी’, ‘तुफान हुरी चल्दछ’ र ‘आह्वान’ लगायतका सिर्जना प्रस्तुत गरेका थिए ।
कविता वाचनलाई थप प्रभावकारी बनाउन बाद्यवादनमा पूर्णविक्रम अधिकारी, प्रलय चौलागाईं र किशोर श्रेष्ठले साथ दिएका थिए ।
कार्यक्रमबाट प्राप्त सम्पूर्ण रकम कवि आचार्यले नेपाली भाषा शिक्षक समिति मकवानपुरको अक्षयकोषका लागि हस्तान्तरण गरेका थिए । साहित्यिक सिर्जना र सामाजिक उत्तरदायित्वलाई जोड्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा साहित्यप्रेमी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
नेपाली भाषा शिक्षक समिति मकवानपुरकी अध्यक्ष ज्योति न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।





