मकवानपुर, ६ असार ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि काठमाडौंले जितेको छ । शुक्रबार चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा भएको फाइनलमा घरेलु टोली चितवनलाई ७ विकेटले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । यसअघि पुरुष क्रिकेट र एथ्लेटिक्समा चितवन तथा तेक्वान्दोमा ललितपुर प्रथम भइसकेका छन् ।
फाइनलमा टस जितेर बलिङ रोजेको काठमाडौंले चितवनलाई निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ९९ रनमा सीमित गरेको थियो । चितवनका लागि कप्तान हेलिशा गुरुङले अविजित ४७ रन बनाइन् भने लक्ष्मीमाया रुम्बा लामाले ३८ रनको योगदान गरिन् । काठमाडौंका अशमिना कर्माचार्य, क्रिश्मा गुरुङ र बसन्ती कुमारी साउदले समान एक–एक विकेट लिए ।
१०० रनको लक्ष्य पछ्याएको काठमाडौंले १७.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कप्तान कन्चन श्रेष्ठले ४२ रन तथा उषा भण्डारीले १७ रन बनाइन् । चितवनका हेलिशा गुरुङ, निशा तामाङ र लक्ष्मीमाया रुम्बा लामाले समान एक–एक विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेकी काठमाडौंकी कप्तान कन्चन श्रेष्ठ फाइनलको प्लेयर अफ द म्याच घोषित भइन् ।
उपाधिसँगै काठमाडौंले ७० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता चितवनले ५६ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो । चितवनकी कप्तान हेलिशा गुरुङ प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गर्न सफल भइन् । चितवनकै लक्ष्मीमाया रुम्बा लामा उत्कृष्ट ब्याटर तथा सन्ध्या थापा उत्कृष्ट बलर घोषित हुँदा भक्तपुरकी शिल्भी नागा उदियमान खेलाडी बनिन् ।
महिला क्रिकेटमा ६ जिल्लाको सहभागिता रहेको थियो । समूह ‘ए’ मा काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोक तथा समूह ‘बी’ मा चितवन, भक्तपुर र मकवानपुर रहेका थिए । समूह विजेताका रूपमा चितवन र काठमाडौं फाइनलमा पुगेका थिए ।
यसअघि पुरुष क्रिकेटको उपाधि चितवनले जितेको थियो। बिहीबार हेटौँडाको गौरीटार क्रिकेट मैदानमा भएको फाइनलमा ललितपुरलाई १० रनले हराउँदै चितवन च्याम्पियन बनेको हो । पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । प्रतीक श्रेष्ठले ४६ रन र आदर्श दुलालले २१ रन बनाए । ललितपुरका कप्तान सूर्य तामाङले ५ विकेट तथा विवेक राना मगरले ३ विकेट लिए ।
१२० रनको लक्ष्य पछ्याएको ललितपुर १८.३ ओभरमा १०९ रनमै समेटियो । कप्तान सूर्य तामाङले २१ रन बनाए भने चितवनका प्रतीक श्रेष्ठले २ विकेट लिए । हारका बाबजुद सूर्य तामाङ फाइनलको प्लेयर अफ द म्याच घोषित भए ।
पुरुष क्रिकेटमा चितवनका रोशन झा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनी उत्कृष्ट ब्याटरसमेत बने भने ललितपुरका सूर्य तामाङ उत्कृष्ट बलर र चितवनका सुमित शर्मा उदियमान खेलाडी घोषित भए । प्रतियोगितामा ८ जिल्लाको सहभागिता थियो ।
एथ्लेटिक्सतर्फ चितवनले १५ स्वर्ण, १३ रजत र ३ कास्य पदकसहित समग्रमा पहिलो स्थान हासिल गर्यो । पुरुषतर्फ ९ स्वर्ण, ८ रजत र २ कास्य तथा महिलातर्फ ६ स्वर्ण, ५ रजत र १ कास्य पदक जित्दै चितवन शीर्ष स्थानमा रह्यो। काठमाडौं ८ स्वर्ण, १ रजत र १ कास्य पदकसहित दोस्रो तथा भक्तपुर ५ स्वर्ण, ५ रजत र ३ कास्य पदकसहित तेस्रो भयो। प्रतियोगितामा हाइजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट, ज्याभेलिन थ्रो र रिले दौडलगायतका विधामा प्रतिस्पर्धा भएको थियो। एथ्लेटिक्समा प्रदेशका १३ वटै जिल्लाका खेलाडी सहभागी थिए ।
तेक्वान्दोतर्फ ललितपुर ७ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित पहिलो भयो । काठमाडौं ४ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित दोस्रो तथा काभ्रेपलाञ्चोक ३ स्वर्ण, १ रजत र २ कास्य पदकसहित तेस्रो स्थानमा रह्यो। पुरुषतर्फ ललितपुरका रोहित महर्जन र महिलातर्फ मकवानपुरकी स्मिती थिङ उत्कृष्ट फाइटर घोषित भए ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले प्रतियोगिताले खेलाडीहरूको क्षमता विकास, प्रतिस्पर्धात्मक अनुभव र नयाँ प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले प्रदेशस्तरीय प्रतियोगितामा खेलाडीहरूको उत्साहजनक सहभागिताले आगामी राष्ट्रिय प्रतियोगिताका लागि बागमती प्रदेशको तयारीलाई थप मजबुत बनाएको उल्लेख गरे ।





