हेटौंडामा दैनिक ३ करोड ७५ लाख लिटर पिउने पानी वितरण

मकवानपुर, ६ असार ।
हेटौंडा उपमहानगरपालिकाका उपभोक्तालाई दैनिक ३ करोड ७५ लाख लिटर प्रशोधित पिउने पानी वितरण भइरहेको छ। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले उपमहानगरका अधिकांश वडामा स्वच्छ खानेपानी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार हेटौंडा उपमहानगरपालिकाका १९ वडामध्ये वडा नम्बर १२ र १३ बाहेक १७ वडामा खानेपानी वितरण हुँदै आएको छ । हाल करिब १ लाख ७२ हजार बासिन्दाले दैनिक औसत १० घण्टा खानेपानी सेवा प्राप्त गरिरहेका छन् । उपमहानगर क्षेत्रमा हालसम्म २९ हजार ८ सय ३ वटा धारा जडान गरिएको बोर्डले जनाएको छ ।

बुङदल खोलाको पानी, ४० वटा डिपट्युवेल र १९ वटा समवेलमार्फत दैनिक ३ करोड ७५ लाख लिटर पानी सङ्कलन गरी वितरण गरिँदै आएको छ । बोर्डले कार्यालय परिसरमै अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ भने पानी सङ्कलन कार्यलाई प्रभावकारी बनाउन विभिन्न क्षमताका मोटर पम्पसेट पनि खरिद गरेको जनाएको छ ।

बोर्डका प्रमुख विष्णुप्रसाद सापकोटाका अनुसार हेटौंडा–१४ मा डिपट्युवेल, २ लाख लिटर क्षमताको पानी ट्याङ्की तथा मेनलाइन शाखा पाइप विस्तारको काम सम्पन्न भएको छ । त्यसैगरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र बोर्डको संयुक्त आयोजनामा हेटौंडा–१६ शक्तिमा ६ वटा ९ सय घनमिटर क्षमताका समवेल निर्माण तथा करिब साढे ३ किलोमिटर पाइपलाइन विस्तारको काम सम्पन्न गरिएको छ ।

यसैगरी हेटौंडा–१५ को सानो सुकौलीमा १ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको छ भने वडा नम्बर १६ मा शौचालय निर्माण गरिएको बोर्डले जनाएको छ । खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाइ डिभिजन–१ को संयुक्त लगानीमा हेटौंडा–११ को थाना भर्याङस्थित सिमलटार क्षेत्रमा दुई वटा समवेल, ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड पानी ट्याङ्की तथा सम्बन्धित संरचना निर्माणको काम भइरहेको छ ।

उता, हेटौंडा–१२ र १३ का स्थानीय उपभोक्ताले आफ्नै लगानीमा खानेपानी ट्याङ्की निर्माण गरी पाइपलाइन विस्तार गरेर घरघरमा खानेपानीको व्यवस्था मिलाएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट