म त सर्जक हुँ, कलम चलाउँछु

कुटो कोदालो पनि चलाएकै छु, अन्न फलाउँछु

सोझो छु सहन्छु तर अन्यायका विरुद्ध आगो जलाउँछु
विकृति र विसंगति विरुद्ध कलम चलाउँछु

किसानको छोरो म आफ्नै मेहनतले अन्न फलाउँछु
दमन, शोषण र बलात्कारका विरुद्ध कलम चलाउँछु

म नेपाललाई पहिले जस्तै सुन्दर, शान्त र विशाल बनाउँछु
मिचिएका जमिन फिर्ता गर्छु र उत्सव मनाउँछु

गोर्खालीको छोरो हुँ म, मर्न कहाँ डराउँछु
कुरो यति हो बुझ शान्ति मन पराउँछु

सगरमाथा जस्तै अटल छन् मेरा विश्वास
नारायणीलाई फेरि स्वच्छ सफा र कञ्चन बनाउँछु

मैले जस्तै प्रतिज्ञा तिमीले पनि गर्नुपर्छ
रुख रोपेर बेलैमा खाली जमिन भर्नुपर्छ

नफाल फोहोर जताततै, नदीमा ढल हाल्नु हुँदैन
मरेका जनावर, सडेका वस्तु नदीमा फाल्नु हुँदैन

जल त अमृत हो, हे मानव अति भयो फोहोर मिसाएर विष बनाउनु हुँदैन
बाँच्नु र बचाउनु छ भने नदीलाई गनाउन दिनु हुँदैन

हरियो वन नेपालको धन अब त केही गर्नुपर्छ
वातावरण नजोगाए रोगाएर मर्नुपर्छ

हिमाल सेतै र पहाड ,तराई पार्नुपर्छ हरियाली
हेर त हिउँ पग्ली हिमाल हुन लाग्यो खाली- खाली

२० हजारी ताल जोगाउँ पर्यटकको ओहिरो लाग्छ
स्वच्छ राखौँ नदीनाला दुःख कष्ट पर भाग्छ

बेलैमा सोच है मूर्ख मानव नत्र सबै मर्नुपर्छ
सबै जागौं अब लागौं नदी सफा गर्नुपर्छ
जलविद्युत निकालेर देशै पारौँ झलमल
उद्योग खोलौं रोजगारी दिउँ केलाई गर्नु अलमल

स्वच्छ राखौँ घर आँगन स्वच्छ हावापानी
गरौँ नदी, हिमाल, ताल सबै सफा राख्ने बानी

पूर्व मेची पश्चिमकाली चेतनाको दियो जलाउँछु
प्रकृतिको संरक्षणमा कलम चलाउँछु ।।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट