काठमाडौं, २ असार ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि निर्माण तथा स्तरोन्नतिको चरणमा रहेको कर्णाली प्रदेश रङ्गशालाको अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति छिट्टै निर्धारण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्रचन्दले मन्त्री पोखरेललाई रङ्गशालाको वर्तमान अवस्था तथा तयारीबारे जानकारी गराउनुभएको थियो ।
निरीक्षणपछि मन्त्री पोखरेलले कर्णाली प्रदेशमा खेलकुदसम्बन्धी भौतिक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै त्यसको विकास र विस्तारमा सरकारले विशेष ध्यान दिने बताउनुभयो । उहाँले आवश्यक संरचना निर्माण तथा खेलकुद पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखिने समेत स्पष्ट पार्नुभयो ।





