कास्की, २६ जेठ ।
‘हाम्रो प्रतिबद्धता, सामाजिक सद्भाव एवं भाटबन्धुहरूबीच एकता’ भन्ने मूल नारासहित रानाभाट/भाट समाज नेपाल केन्द्रीय कार्य समितिको छैटौं केन्द्रीय महाधिवेशन–२०८३ पोखरामा सम्पन्न भएको छ । जेठ २३ र २४ गते पोखरा महानगरपालिका–१७, विरौटास्थित रोयल महल ब्याङ्क्वेटमा आयोजित महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै चितवनका हरिबहादुर रानाभाटलाई केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको हो ।
समाजका निवर्तमान अध्यक्ष बाबुराम रानाभाटको सभाध्यक्षता तथा पूर्व सभामुख तारानाथ रानाभाटको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनको उद्घाटन राष्ट्रिय गान, दिवङ्गत व्यक्तिहरूप्रति एक मिनेट मौनधारण तथा पानसमा दीप प्रज्वलन गरी गरिएको थियो । कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरिबहादुर रानाभाटले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने स्वागत नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
महाधिवेशनका अवसरमा नवलपुरमा निर्माणाधीन समाजघरका लागि योगदान पुर्याउने विभिन्न एकाइ तथा जिल्ला समितिका पदाधिकारीलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उत्कृष्ट जिल्ला कार्य समितिको रूपमा तनहुँ र चितवन जिल्ला कार्य समितिलाई सम्मान प्रदान गरिएको थियो । यसैगरी विभिन्न विधामा रुपन्देही र नवलपुर जिल्ला कार्य समितिलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा न्याय, शिक्षा, उद्योग–व्यवसाय, कला, समाजसेवा तथा अनुसन्धानलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा उच्च अदालत पाटनका न्यायाधीश शिव रानाभाट, रजिस्ट्रार अशोक भाट क्षेत्री, फिस्टेल एकेडेमीका संस्थापक प्राचार्य चिनु रानाभाट, ‘एक्टिङ स्टार’ विजेता नविना रानाभाट, उद्योगी अर्जुन रानाभाट, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद रानाभाट, शोधकर्ता कविता रानाभाट, कलाकार मुस्कान रानाभाट, समाजसेवी बलबहादुर रानाभाटलगायत रहेका थिए ।
महाधिवेशनमा विभिन्न प्रदेश तथा जिल्ला कार्य समितिका प्रतिनिधिहरू, सल्लाहकार तथा विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । केन्द्रीय उपाध्यक्ष श्रीबहादुर रानाभाटले धन्यवाद ज्ञापन गरेका थिए भने अध्यक्ष बाबुराम रानाभाटले उद्घाटन सत्र समापन गरेका थिए ।
देशका विभिन्न प्रदेश तथा जिल्लाबाट करिब ३ सय ५० प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनले सामाजिक एकता, आपसी सद्भाव र संस्थागत सुदृढीकरणलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।





