मकवानपुर, २४ जेठ ।
बागमती प्रदेशमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ हजार ६ सय ५८ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय बागमतीका अनुसार उपत्यकाका तीन जिल्ला बाहेकका १० जिल्लामा साउनदेखि वैशाखसम्म भएका दुर्घटनामा २८१ जनाको मृत्यु भएको छ भने ३ हजार २ सय ९६ जना घाइते भएका छन् ।
तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा ती जिल्लामा २ हजार ४ सय २२ सवारी दुर्घटना हुँदा ३०४ जनाको मृत्यु भएको थियो । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५ सय ३६ दुर्घटनामा ३१५ जनाले ज्यान गुमाएका थिए ।
बागमती प्रदेशमा सवारी दुर्घटनाको दृष्टिले चितवन सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ। चालु आर्थिक वर्षको १० महिनामा मात्रै चितवनमा ४ सय ८४ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ८९ जनाको मृत्यु भएको, ८७ जना गम्भीर र ८ सय ९ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ। गत आर्थिक वर्षमा चितवनमा सवारी दुर्घटनाबाट १२० जनाले ज्यान गुमाएका थिए ।
मृत्यु हुनेको संख्यामा चितवनपछि मकवानपुर रहेको छ । मकवानपुरमा गत आर्थिक वर्ष ४ सय ७ दुर्घटनामा ५० जनाको मृत्यु भएको थियो भने चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५३ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार सडकको दुरावस्था, चालकको लापरबाही, सवारी साधनको बढ्दो चाप तथा बाढी–पहिरोका कारण जोखिमयुक्त बनेका सडक मार्ग दुर्घटना बढ्नुका प्रमुख कारण हुन् । प्रहरीले सडक सुरक्षा सचेतना र ट्राफिक निगरानीलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ ।





