गौरीटार रङ्गशाला अन्तर्राष्ट्रियस्तरको खेलकुद केन्द्र बन्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर, १७ जेठ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडास्थित गौरीटार रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको आधुनिक खेलकुद केन्द्रका रूपमा विकास गरिने बताएका छन् ।

बागमती प्रदेश सरकारको सहयोगमा गौरीटार रङ्गशालामा निर्माण गरिएको क्रिकेट मैदानको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले आगामी बजेटमार्फत आवश्यक स्रोत व्यवस्थापन गरी रङ्गशालाको पूर्वाधार विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिइने जानकारी दिए ।

उनले गौरीटार रङ्गशालालाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाइएको उल्लेख गर्दै क्रिकेट मैदानसँगै प्यारापिट, हेल्थ डेस्क, सिन्थेटिक ट्र्याकलगायतका पूर्वाधार निर्माण गरी यसलाई बहुउद्देश्यीय खेलकुद केन्द्रका रूपमा विकास गरिने बताए ।

मुख्यमन्त्री बानियाँले प्रदेशको खेलकुद विकासका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) लगायत सरोकारवाला निकायसँग समन्वय गरी राष्ट्रिय तथा अन्तरप्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सकिने वातावरण तयार पारिने बताए । उनले ‘बागमती प्रदेशको शान, खेलाडीको सम्मान’ अभियानमार्फत खेल क्षेत्रमा योगदान पुर्‍याएका खेलाडीलाई खेल जीवनपछि पनि सम्मान र भत्ताको व्यवस्था गरिने जानकारी दिए ।

कार्यक्रममा पारस खड्काले गौरीटार क्रिकेट मैदान बागमती प्रदेशको क्रिकेट विकासको महत्वपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गरे उनले खेलाडीहरूले आफ्नै सुविधासम्पन्न मैदान पाएको उल्लेख गर्दै यसबाट प्रदेशमा थप प्रतिभावान क्रिकेटर उत्पादन हुने अपेक्षा व्यक्त गरे ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव दीपक लामाका अनुसार गौरीटार क्रिकेट मैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाँच वटा पिचसहित निर्माण गरिएको छ । दुई वर्षअघि सुरु भएको निर्माण कार्यमा ११ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ ।

मैदानमा आधुनिक भूमिगत ड्रेनेज प्रणाली, बर्मुडा दुबो, ६०० दर्शक क्षमताको प्यारापिट, भीभीआईपी कक्ष, खेलाडी चेन्जिङ रुम, मिडिया तथा प्रसारण कक्षलगायतका संरचना निर्माण भइसकेका छन् ।

प्रदेश सरकारले गौरीटार रङ्गशालालाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्न सक्ने स्तरको खेलकुद पूर्वाधारका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट