चितवन, १२ जेठ ।
बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन जाने चितवनको टोलीलाई मंगलबार बिदाइ गरिएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई खेल सामग्रीसहित औपचारिक रूपमा बिदाइ गरेको हो ।
जेठ १३ देखि १५ गतेसम्म काठमाडौं र ललितपुरमा हुने प्रतियोगिताका लागि चितवनबाट ९२ जना खेलाडी तथा प्रशिक्षक–व्यवस्थापकसहित कुल १०२ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई समितिका अध्यक्ष राजन कार्की, कार्यालय सचिव रामजी ढकाललगायतले सफलताको शुभकामनासहित बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा अध्यक्ष कार्कीले खेलाडीलाई उच्च मनोबलका साथ अनुशासित भएर उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे । उनले पहिलो पटक प्रतियोगिताअघि बन्द प्रशिक्षण सञ्चालन गरिएको उल्लेख गर्दै यसले सकारात्मक नतिजा ल्याउने विश्वास व्यक्त गरे ।
खेलाडीको क्षमता विकासमा समितिले निरन्तर प्राथमिकता दिँदै आएको बताउँदै उनले चितवनको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने र यहीँबाट अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए । प्रशिक्षकहरूले पनि प्रतियोगिताअघि सञ्चालन गरिएको बन्द प्रशिक्षणले खेलाडीको प्रदर्शनमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।





