युवा उद्यमशीलता विकासमा ‘नाफल ५.०’ : युवालाई ज्ञान, सीप र नेटवर्किङ अवसर

चितवन, १२ जेठ ।
युवा उद्यमशीलता विकास, सीप अभिवृद्धि तथा नेटवर्किङ विस्तार गर्ने उद्देश्यसहित नारायणगढ जेसीजद्वारा आयोजित “नाफल ५.०” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । सन् २०२२ देखि निरन्तर सञ्चालन हुँदै आएको ‘नाफल’ कार्यक्रमको पाँचौँ संस्करण गैँडाकोटस्थित इला रिसोर्टमा दुई रात तीन दिनसम्म सञ्चालन गरिएको थियो ।

देशका विभिन्न जिल्लाबाट सहभागी भएका ५५ जना युवाको सक्रिय उपस्थितिले कार्यक्रमलाई थप ऊर्जावान बनाएको आयोजकले जनाएको छ । आधुनिक व्यावसायिक वातावरणमा आवश्यक ज्ञान, सीप र सोचको विकास गराउने उद्देश्यसहित कार्यक्रमको संरचना तयार गरिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्र जेठ ८ गते सम्पन्न भएको थियो । उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय जेसीजकी उपाध्यक्ष रजनी थापा ले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै युवा नेतृत्व र उद्यमशीलताको विकासमा यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकासका लागि ज्ञान, नेटवर्क र आत्मविश्वासबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभयो ।

त्यसैगरी, जेठ १० गते सम्पन्न समापन समारोहमा जीवन कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभयो । उहाँले ‘नाफल’ जस्ता कार्यक्रमले युवाहरूलाई व्यवसायिक यात्रामा मार्गदर्शन गर्ने उल्लेख गर्दै सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई प्रेरित गर्नुभयो ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा मार्केटिङ र ब्रान्डिङको प्रभावकारी प्रयोगमार्फत व्यवसाय विस्तार गर्ने विषयमा विभिन्न अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएका थिए ।

सहभागीहरूले व्यवसायलाई प्रतिस्पर्धी बनाउन आवश्यक रणनीति, ब्रान्ड निर्माण, ग्राहक व्यवस्थापन तथा बजार विश्लेषणसम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका थिए ।

प्रशिक्षकका रूपमा प्रा. डा. सन्देश दास श्रेष्ठ तथा मार्केटिङ विज्ञ पुष्कर शर्माले सहजीकरण गर्नुभएको थियो । उहाँहरूले प्रस्तुत गरेको विषयवस्तुले सहभागीहरूलाई व्यवहारिक सोच र कार्यान्वयनतर्फ प्रेरित गरेको प्रतिक्रिया सहभागीहरूले दिएका थिए ।

कार्यक्रममा विशेष वक्ताका रूपमा राजेश हमाल, मनोज ज्ञवाली तथा अनुपमा संग्रौलाले आफ्नो अनुभव, संघर्ष र सफलताका कथा प्रस्तुत गर्नुभएको थियो । उहाँहरूको प्रस्तुति सहभागीहरूका लागि प्रेरणादायी तथा मार्गदर्शक बनेको आयोजकले जनाएको छ ।

कार्यक्रममा नारायणगढ जेसीजका पूर्वअध्यक्ष, नेपाल जेसीजका विभिन्न शाखाका अध्यक्ष, सदस्य, सहयोगी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक संजीव पौडेलले सम्पूर्ण व्यवस्थापनको नेतृत्व गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नारायणगढ जेसीजका अध्यक्ष सन्तोष पण्डितले गर्नुभएको थियो । अध्यक्ष पण्डितले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सहभागी, प्रशिक्षक, वक्ता, सदस्य तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

समग्रमा, “नाफल ५.०” ले सहभागीहरूलाई नयाँ दृष्टिकोण, व्यवसायिक ज्ञान तथा बलियो नेटवर्क निर्माण गर्ने अवसर प्रदान गर्दै उद्यमशीलता विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट