महिला उद्यमशीलता प्रवर्द्धनमा जोड : चितवन उवासंघमा साबुन बनाउने तालिम

भरतपुर, १० जेठ ।
चितवन उद्योग वाणिज्य संघले महिला उद्यमीलाई स्वरोजगार तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरेको तीनदिने साबुन बनाउने तालिम सम्पन्न गरेको छ । “सीप नै आत्मनिर्भरताको पहिलो पाइला हो” भन्ने नारासहित सञ्चालन गरिएको तालिममा सहभागीलाई सीपमूलक ज्ञान तथा व्यावहारिक सीप हस्तान्तरण गरिएको थियो ।

संघको सभाहलमा आयोजित तालिममा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले यस्ता तालिमले महिलालाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सिकेको सीपलाई केवल प्रमाणपत्र वा अनुभवमै सीमित नराखी व्यावसायिक रूपमा अघि बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले हातमा सीप हुने व्यक्ति कहिल्यै भोकै बस्न नपर्ने उल्लेख गर्दै सीपले व्यक्तिलाई आर्थिक रूपमा सक्षम बनाउने धारणा राख्नुभयो । उहाँले उद्यमशीलताविना कुनै पनि राष्ट्रको विकास सम्भव नहुने भन्दै तीन दिनमा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। साथै महिला उद्यमीका उत्पादनको बजारीकरणमा संघले सहयोग गर्ने र आवश्यकताअनुसार आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गर्न तयार रहेको जानकारी दिनुभयो ।

प्रशिक्षार्थीका तर्फबाट मन्तव्य राख्दै गीता कुमारी न्यौपानेले चितवन उद्योग वाणिज्य संघले उद्यमशीलता विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

जेठ ६ देखि ८ गतेसम्म सञ्चालन भएको तालिममा केजिए सोप इण्डस्ट्रिजका सञ्चालक कमला अधिकारीले प्रशिक्षण दिनुभएको थियो । तालिममा ४५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

तालिमको समापन कार्यक्रममा कार्यसमिति सदस्य तथा तालिम संयोजक विष्णु लम्साल, कार्यकारी निर्देशक निलबहादुर केसी, कार्यसमिति सदस्य श्रीकृष्ण लम्साल, अस्मिता तिमिल्सिना, कृष्णकुमार महतो तथा सुरेशकुमार गुप्तालगायतको सहभागिता रहेको थियो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन तथा समापन सत्र संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट