शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरुको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ११ जेठ ।

माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू) सँग आबद्ध विभिन्न मुलुकका महामहिम राजदूतहरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार नेपालस्थित इयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैरआवासीय राजदूतहरुले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रुपमा भेटवार्ता गर्नुभएको हो । उक्त भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार–विमर्श भएको थियो ।

युरोपेली सम्बद्ध मुलुकका प्रतिनिधिहरूले नेपालको परिवर्तित सन्दर्भमा सरकारको प्राथमिकताको क्षेत्रका साथै नेपालको शिक्षा, खासगरी उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाउनुभएको थियो । साथै, उहाँहरूले नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिङ्गो इयू इच्छुक रहेको बताउँदै नेपालको शिक्षा क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिने र उच्च शिक्षामा कसरी सहकार्य र साझेदारीलाई अगाडि बढाउने विषयमा जोड दिनुभएको थियो ।

नेपाल सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा इयूलगायत मुलुकले गर्दै आएको सहयोगका निम्ति धन्यवाद दिदैँ आगामी दिनहरूमा पनि यी देशहरुसँग थप साझेदारी बढाउन मन्त्रालय तत्पर रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले सरकारको नीति र प्राथमिकताबारे जानकारी गराउँदै विद्यमान शिक्षाका समावेशिता, पूर्वाधार विकास शिक्षक पेसागत विकास लगायतका क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

शिक्षामा प्रविधिको पहुँच विस्तार, उच्च शिक्षामा साझेदारिता आदि विषयमा एक अर्का मुलुकहरूबिचको समन्वयलाई बलियो बनाएर लैजानुपर्नेमा उहाँको जोड दिनुभयो ।

मन्त्री पोखरेलले मन्त्रालयले चालेका कदमबारे थप प्रष्ट पार्दै शिक्षामा डिजिटाईजेसन, उच्च शिक्षामा विद्यार्थी मात्रै नभएर युनिभर्सिटीहरूका ‘फ्याकल्टी मेम्बर’हरुको एक्सचेन्जका कार्यक्रमहरू सञ्चालन गर्न तथा भविष्यमा शैक्षिक संस्था र विश्वविद्यालयहरूसँग थप सहकार्य र साझेदारीता बढाउन मन्त्रालय तयार रहेको उल्लेख गर्नुभयो ।

मन्त्री पोखरेलले उच्च शिक्षाको पुनर्संरचना गर्न लागिरहेको सन्दर्भमा विभिन्न मुलुकको विज्ञता र आइडिया साझा गर्न पनि आग्रह गर्नुभयो । उहाँले दुईदेशकाबिचमा खुला छलफलबाट आगामी दिनमा के कस्ता सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।

त्यसैगरी साइप्रस, रोमानिया, नेदरल्याण्ड लगायत मुलुकका राजदूतहरूले शिक्षाको क्षेत्र विशेषतः उच्च शिक्षाको क्षेत्रमा सहकार्य गर्न आफूहरू तत्पर रहेको बताउनुभएको थियो ।

नेपालबाट साइप्रस, रोमानियालगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि नेपालीहरु जाने प्रवृत्ति बढिरहेको सन्दर्भमा दुई देशबिचको सम्बन्धलाई थप बिस्तार गरेर अगाडि बढ्नुपर्नेमा उहाँहरूको जोड थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट