बागमती प्रदेश सरकारले आज ल्याउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

मकवानपुर, १२ जेठ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज (मङ्गलबार) सार्वजनिक गर्ने भएको छ । प्रदेशसभाको आजका लागि आह्वान गरिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संसद्मा पेस गर्ने गरी मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङ का अनुसार मङ्गलबार साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा पेस गर्ने गरी मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम अनुमोदन गरेको हो ।

मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले पेस गरेको बागमती प्रदेश सहरी नीति स्वीकृत गरेको छ । साथै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याएको ‘जीवनाशक विषादी व्यवस्थापन’ सम्बन्धी विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरिएको छ ।

त्यस्तै, कृषि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८३ को मस्यौदा मन्त्रिपरिषद्को समितिमा पठाउने निर्णय गरिएको मन्त्री तामाङले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको प्रदेश जनसङ्ख्या नीति–२०८३ लाई अध्ययन तथा परिमार्जनका लागि समितिमा पठाउने निर्णय गरिएको छ । साथै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले तयार पारेको प्रदेश विद्युत् विकाससम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट