भरतपुर, १० जेठ ।
चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलले नागरिकलाई घर तथा व्यवसायिक स्थलको सुरक्षामा थप सचेत हुन आग्रह गरेका छन् । उनले घर र पसलमा सिसिटिभी जडान गर्न आग्रह गर्दै त्यसले अपराध नियन्त्रण र अनुसन्धान दुवैमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
उद्योग वाणिज्य संघ चितवनले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक (एसपी) पौडेलले मानिसहरू सुरक्षाका विषयमा पर्याप्त ध्यान नदिने प्रवृत्तितर्फ संकेत गरे ।
उनले भने, `हामी घरमा २० हजार रुपैयाँको कुकुर किनेर राख्छौं, तर १० हजार रुपैयाँको सिसिटिभी राख्दैनौं । कुकुरले पनि केही गर्दैन, एउटा बिस्कुट दियो भने चोरलाई पनि माया गर्न सक्छ । तर सिसिटिभीले घटनाको प्रमाण सुरक्षित राख्छ ।´
पौडेलले सबै घर तथा पसलको बाहिरी भाग, विशेषगरी सडक क्षेत्र देखिने गरी सिसिटिभी जडान गर्न आग्रह गरे । उनका अनुसार सिसिटिभीले सर्वसाधारणमा सुरक्षा अनुभूति बढाउनुका साथै कुनै आपराधिक घटना भएमा अनुसन्धान प्रक्रियालाई पनि सहज बनाउँछ ।
उनले सामुदायिक सुरक्षामा नागरिक र प्रहरीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।





