‘आफूलाई अरूसँग नदाँज्नुहोस्’ : महानायक हमालले बाँडे संघर्ष, सपना र सफलताका सूत्र

चितवन, ११ जेठ ।
पूर्वी चितवनको अग्रणी शैक्षिक संस्था न्यू क्यापिटल कलेजले आफ्नो स्थापनाको २५ औँ वर्ष अर्थात् रजत जयन्तीको अवसरमा सञ्चालन गरिरहेको विशेष कार्यक्रमअन्तर्गत सोमबार महानायकसँग ‘युगदेखि युगसम्म’ पुस्तक केन्द्रित प्रेरणादायी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

रत्ननगर नगरपालिका – ४ टाँडीस्थित कलेज परिसरमा आयोजित ‘विद्यालयदेखि सिनेमायुगसम्म’ विषयक विशेष संवादमा कलेजका प्राचार्य भूपेन्द्र धितालले महानायक राजेश हमालसँग सिनेमा, जीवन, संघर्ष, समाज र युवा पुस्ताको भूमिकालगायत विविध विषयमा संवाद गरेका थिए ।

अन्तरक्रियाका क्रममा हमालले विद्यार्थीहरूलाई आफूलाई अरूसँग तुलना नगर्न आग्रह गर्दै प्रत्येक व्यक्तिमा फरक–फरक क्षमता र प्रतिभा हुने बताए । उनले आफ्नो क्षमता पहिचान गरी त्यसलाई निरन्तर मेहनत र समर्पणसँग जोड्न सके सफलता आफैं पछ्याउँदै आउने धारणा व्यक्त गरे ।

`तपाईंसँग कुनै न कुनै विशेष क्षमता हुन्छ, त्यसलाई पहिचान गरेर निरन्तर मेहनतका साथ अगाडि बढ्नुपर्छ,´ उनले भने, `यदि तपाईं आफ्नो क्षमताप्रति प्रतिबद्ध हुनुहुन्छ भने तपाईंका अभिभावकले पनि त्यसलाई अवश्य बुझ्नुहुनेछ ।´

उनले कार्यक्रममा उपस्थित अभिभावकलाई आफ्ना सन्तानको चाहना, रुचि र मनोभावना बुझ्न आग्रह गर्दै प्रत्येक बालबालिकाको प्रतिभा र सोच फरक हुने उल्लेख गरे । शिक्षाको महत्वमाथि जोड दिँदै उनले अनुशासन, निरन्तर अभ्यास र मेहनतले व्यक्तिलाई जीवनको शिखरसम्म पुर्‍याउन सक्ने बताए ।

कार्यक्रममा उनले आफ्नो अभिनय यात्राको संघर्षपूर्ण कथा पनि सुनाए । परिवारको चाहनाभन्दा फरक बाटो रोजेर सपनाको पछि लाग्दा भोगेका चुनौती र सफलताका अनुभव सुनाउँदै उनले विद्यार्थीहरूलाई अध्ययनप्रति केन्द्रित हुन र शिक्षालाई जीवन निर्माणको सबैभन्दा बलियो आधार बनाउन आग्रह गरे ।

फाइन प्रिन्टबाट प्रकाशित ‘युगदेखि युगसम्म’ पुस्तकमा राजेश हमालको बाल्यकाल, चलचित्र क्षेत्रमा पुर्‍याएको योगदान र वर्तमान जीवनका विभिन्न आयाम समेटिएका छन् । यज्ञश र राजेश हमालबीचको संवादमा आधारित उक्त पुस्तकको शीर्षक हमालले अभिनय गरेको पहिलो चलचित्रसँग पनि जोडिएको छ । पहिलो चलचित्र नै अत्यन्त सफल भएपछि नेपाली चलचित्र क्षेत्रमा उनले लामो समयसम्म विशिष्ट पहिचान निर्माण गरेका थिए ।

कलेजका प्राध्यापक विष्णु सापकोटाले सहजीकरण गरेको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा स्थानीय स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमपछि विद्यार्थीहरू महानायकसँग तस्बिर खिच्न, सेल्फी लिन र रिल बनाउन उत्साहित देखिएका थिए । साथै हमालले आफ्ना पाठकका लागि पुस्तकमा हस्ताक्षर गर्दै सहभागीहरूसँग आत्मीय भलाकुसारी गरेका थिए ।

कलेजले रजत जयन्ती वर्षभरि यस्तै बहस, साहित्यिक तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट