चन्दना कोइरालाको नयाँ जिम्मेवारी, व्यवसायीमा नयाँ अपेक्षा

चितवन, १२ जेठ ।
चितवनको व्यावसायिक क्षेत्रमा सक्रिय उद्यमी चन्दना कोइराला चितवन फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी संघको महासचिव पदमा निर्विरोध चयन हुनुभएको छ । संघको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट केशवराज पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै उहाँले महासचिवको महत्वपूर्ण जिम्मेवारी पाउनुभएको हो ।

लामो समयदेखि फर्निसिङ तथा उद्योग क्षेत्रमा सक्रिय कोइराला मेहनत, इमानदारी र नेतृत्व क्षमताका कारण चितवनका उद्योगी–व्यवसायीमाझ परिचित व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ । उहाँको निर्विरोध चयनलाई व्यवसायिक क्षेत्रले अनुभवी र जिम्मेवार नेतृत्वको आगमनका रूपमा लिएको छ ।

कोइराला उद्योग तथा उद्यमशीलता विकासमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ । उहाँ हाल नेपाल कपास उद्योग महासंघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ भने बागमती प्रदेश उद्योग परिसंघको महिला समितिको निवर्तमान अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरिसक्नुभएको छ । महिला सशक्तीकरण र उद्यम प्रवर्द्धनका कार्यक्रममार्फत उहाँले धेरै महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्दै आउनुभएको छ ।

सालिन स्वभाव, सरल व्यवहार र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले उहाँलाई समाजमा थप लोकप्रिय बनाएको छ । धार्मिक, सामाजिक तथा व्यावसायिक गतिविधिमा सक्रिय उहाँले विशेषगरी महिलालाई सीपमूलक तालिम, व्यवसायिक ज्ञान र परामर्श प्रदान गर्दै आउनुभएको छ ।

फर्निसिङ व्यवसायमा लामो अनुभवका कारण उहाँ उद्योग क्षेत्रका चुनौती, बजार व्यवस्थापन तथा व्यवसायीका समस्या नजिकबाट बुझ्नुहुन्छ । यही अनुभवका आधारमा उहाँको नेतृत्वमा संघले व्यवसायीका हकहित, उद्योग प्रवर्द्धन तथा व्यावसायिक वातावरण सुधारमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

व्यवसायीहरूले कोइरालाको नेतृत्व क्षमता, समन्वयकारी भूमिका र सकारात्मक सोचले संघलाई थप गतिशील तथा व्यवसायीमैत्री बनाउने विश्वास व्यक्त गरेका छन् । उहाँको यो जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिभन्दा पनि महिला उद्यमशीलता र चितवनको व्यावसायिक क्षेत्रका लागि प्रेरणादायी कदमका रूपमा हेरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट