काठमाडौं, ९ जेठ ।
सामाजिक सञ्जालमा तीव्र रूपमा लोकप्रिय बनेको ‘कक्रोच जनता पार्टी’ (CJP) को इन्स्टाग्राम पेज ह्याक भएको दाबी गरिएको छ । पार्टीका संस्थापक अभिजित दीपकेले आफ्नो व्यक्तिगत इन्स्टाग्राम खाता तथा पार्टीसँग सम्बन्धित डिजिटल प्लेटफर्ममा पहुँच गुमाएको जानकारी दिएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पार्टीको आधिकारिक इन्स्टाग्राम पेजले २ करोडभन्दा बढी फलोअर्स पुर्याएको चर्चा भइरहेका बेला उक्त पेजमा समस्या देखिएको हो । यसअघि पनि पार्टीले आफ्नो इन्स्टाग्राममा अनधिकृत पहुँच प्रयास भएको भन्दै स्क्रिनसट सार्वजनिक गरेको थियो ।
संस्थापक दीपकेले केही सामाजिक सञ्जाल खाताहरू हटाइएको, केहीमा पहुँच रोकिएको तथा ‘एक प्रकारको डिजिटल दबाब’ सिर्जना गरिएको आरोप समेत लगाएका छन् । पार्टीको एक्स (पूर्व ट्विटर) खाता भारतमा रोकिएको दाबी पनि गरिएको छ ।
कक्रोच जनता पार्टी पछिल्ला दिनमा युवामाझ व्यंग्यात्मक राजनीतिक अभियानका रूपमा चर्चामा आएको थियो । बेरोजगारी, उत्तरदायित्व र राजनीतिक व्यंग्यलाई केन्द्रमा राखेर सञ्चालन गरिएको अभियानले छोटो समयमै करोडौं फलोअर्स आकर्षित गरेको बताइएको छ । केही रिपोर्टहरूमा यसले भारतका ठूला राजनीतिक दलहरूको इन्स्टाग्राम फलोअर्स संख्यालाई समेत उछिनेको उल्लेख गरिएको छ ।
यद्यपि पेज वास्तवमै ह्याक भएको हो वा प्राविधिक समस्या अथवा प्लेटफर्म व्यवस्थापनसँग सम्बन्धित विषय हो भन्नेबारे स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन । हालसम्म मेटाले पनि यस घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको देखिएको छैन ।





