भरतपुर, ८ जेठ ।
भरतपुर महानगरपालिका–४ कंडेल चोकमा स्कुटर दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
जेठ ६ गते बिहान करिब ११:१५ बजे विशालचोकबाट भरतपुरतर्फ जाँदै गरेको ना ३३ प ९२७८ नम्बरको स्कुटरको पछाडिको चक्का अचानक फुस्किँदा स्कुटर अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा स्कुटर चालक भरतपुर–४ आनन्दचोक निवासी ६८ वर्षीय पूर्णबहादुर हमाल घाइते भएका थिए भने पछाडि सवार उनकी श्रीमती ६३ वर्षीया सरस्वती हमाल गम्भीर घाइते भएकी थिइन् ।
दुवैजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोमा सरस्वती हमालको जेठ ८ गते बिहान १०:५५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक पूर्णबहादुर हमालको सोही अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ ।





