मकवानपुर, ८ जेठ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बागमती प्रदेश सरकारलाई आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटका लागि ४९ बुँदे सुझाव पत्र बुझाएको छ । सङ्घीयताको सुदृढीकरण, जनमुखी सेवा प्रवाह, सुशासन र पूर्वाधार विकासलाई केन्द्रमा राख्दै नेकपा बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सुझाव प्रस्तुत गरेको हो ।
दलका नेता तथा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितका नेताहरूले शुक्रबार मुख्यमन्त्री बानियाँलाई सुझाव पत्र हस्तान्तरण गरेका हुन् । सुझावमा विगतमा आफ्नो नेतृत्वको सरकारले अघि सारेका १० वटा मुख्य गौरवका आयोजनालाई आगामी बजेटमा पनि निरन्तरता दिनुपर्ने माग गरिएको छ ।
नेकपाले ‘एक विद्यालय : एक नर्स’, ‘चेपाङ, चिउरी र चमेरो संरक्षण’, ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’, ‘प्रदेश सडक गुरुयोजना’, ‘घरेलु महिला सशक्तीकरण’ तथा ‘बडा समाजवादी कार्यक्रम’ जस्ता योजनालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । यी कार्यक्रमले तल्लो तहका नागरिकको जीवनस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास पार्टीले व्यक्त गरेको छ ।
प्रशासनिक सुधार र सुशासनतर्फ मन्त्रालयको संख्या घटाएर सातवटामा सीमित गर्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सुझाव दिइएको छ । प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न ‘एक हप्ताभित्र शून्य फाइल’ अवधारणा लागू गर्दै पेपरलेस सेवा प्रणाली अपनाउनुपर्ने सुझाव पनि समावेश छ ।
प्रदेश सरकारको खर्च क्षमता वृद्धि गर्दै आगामी आर्थिक वर्षमा विकास खर्च शतप्रतिशत पुर्याउने लक्ष्य लिनुपर्ने र बजेट विनियोजनमा सबै निर्वाचन क्षेत्रलाई समानुपातिक ढङ्गले समेट्नुपर्ने नेकपाको भनाइ छ ।
सुझाव पत्रमा बागमतीलाई ‘लगानीमैत्री प्रदेश’ घोषणा गर्दै लगानी सम्मेलन, पूर्वाधार सम्मेलन र युवा उद्यमी सम्मेलन आयोजना गर्न तथा डिजिटल प्लेटफर्ममार्फत आर्थिक कारोबार सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
सहरी विपन्न तथा सुकुम्वासी परिवारलाई प्रतिमहिना १० हजार लिटरसम्म निःशुल्क पानी उपलब्ध गराउनुपर्ने प्रस्ताव पनि नेकपाले गरेको छ । साथै जनयुद्ध, जनआन्दोलन र पछिल्ला राजनीतिक आन्दोलनका घाइतेलाई सरकारी अस्पतालमा निःशुल्क उपचार व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
राजमार्ग दुर्घटनालाई लक्षित गर्दै मुख्य सडक तथा लोकमार्गमा ट्रमा सेन्टर स्थापना गरी दुर्घटनापछि पहिलो २४ घण्टासम्म निःशुल्क उपचारको व्यवस्था गर्न सुझाव दिइएको छ ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयलाई आवासीय, स्मार्ट र श्रममैत्री बनाउन तथा बागमती विश्वविद्यालयलाई कृषि, वन, स्वास्थ्य र पर्यटनजस्ता प्राविधिक विषयको केन्द्रका रूपमा विकास गर्न लगानी बढाउनुपर्ने उल्लेख गरिएको छ ।
कृषि तथा वातावरण संरक्षणका लागि बाँझो जमिनमा व्यावसायिक खेती गर्ने किसानलाई सहुलियत कर्जा, प्रत्येक निर्वाचन क्षेत्रमा कृषि बजार स्थापना र ‘एक वडा : एक कृषि उत्पादन’ कार्यक्रम विस्तार गर्न माग गरिएको छ । ग्रामीण क्षेत्रमा समस्या बनेका बाँदर र बँदेल नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव पनि दिइएको छ ।
पर्यटन तथा पूर्वाधार विकासतर्फ ‘एक निर्वाचन क्षेत्र : एक नयाँ सहर’, ‘एक जिल्ला : एक रङ्गशाला’ र ‘एक निर्वाचन क्षेत्र : एक कभर्ड हल’ को अवधारणा अघि सारिएको छ । साथै काठमाडौँ उपत्यका वरपरका डाँडामा पर्यटकीय पदमार्ग र वातावरणमैत्री साइकल लेन निर्माण गर्नुपर्ने सुझाव पत्रमा उल्लेख गरिएको छ ।
विपद् व्यवस्थापनतर्फ बाढी, पहिरो लगायत प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि आधुनिक प्रविधि र दक्ष जनशक्तिको पूर्वतयारी गर्नुपर्नेमा नेकपाले जोड दिएको छ ।





