कावासोती, ८ जेठ ।
कावासोतीस्थित नवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘सहकारीमा सुशासन, आजको आवश्यकता’ शीर्षकमा आयोजित प्रतियोगितामा विभिन्न १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले सहकारी क्षेत्रको सुशासन, पारदर्शिता, उत्तरदायित्व र वर्तमान समयमा सहकारीको भूमिकाबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा लुम्बिनी आवासीय माध्यमिक विद्यालयका रियाज काफ्ले प्रथम हुन सफल भए । त्यसैगरी सिद्धार्थ आवासीय माध्यमिक विद्यालयकी सिम्रन महतो दोस्रो तथा हाम्रो शिव माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत श्रेया दाहाल तेस्रो स्थान हासिल गर्न सफल भइन् ।
यस्तै, नोबल एकेडेमी कक्षा ७ मा अध्ययनरत आनन्दी भट्टराईले सान्त्वना पुरस्कार (चौथो स्थान) प्राप्त गरिन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको प्रतिष्ठा बढाउने सम्पूर्ण विद्यार्थीहरूलाई आयोजक संस्थाले हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा वक्तृत्व क्षमता अभिवृद्धिसँगै सहकारीसम्बन्धी ज्ञान र चेतना विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।




