काठमाडौं, ७ जेठ ।
नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय पुनः मदननगर बल्खुकै पुरानो स्थानमा निर्माण गर्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार गुण्डुमा बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावअनुसार बल्खुस्थित आफ्नै जग्गामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गरिने भएको हो ।
नयाँ भवन निर्माण सम्पन्न नहुँदासम्म पार्टी कार्यालय भाडामा सञ्चालन गर्ने तथा कलंकीमा भवन निर्माणका लागि दानस्वरूप प्राप्त जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ दम्पतीलाई धन्यवादसहित फिर्ता गर्ने निर्णय पनि गरिएको छ ।
यसअघि उक्त जग्गासम्बन्धी विवादका क्रममा भदौ २४ गते मीनबहादुर गुरुङसँग सम्बन्धित भाटभटेनी सुपरमार्केटका १२ भन्दा बढी शाखामा आगजनी भएको थियो । सोही जग्गा प्रकरणका विषयमा एमाले अध्यक्ष ओलीले नेतृहरू बिन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।





