दासढुङ्गा, ३ जेठ ।
नेकपा (एमाले) जिल्ला कमिटी चितवनले आइतबार बिहान मदन–आश्रित दुर्घटनास्थल दासढुङ्गा पुगेर नेताद्वयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल र्यालीसहित दुर्घटनास्थल पुगेका एमालेका नेता तथा कार्यकर्ताले मदन–आश्रितको शालिकमा माल्यार्पण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँहरूले पुर्याएको योगदानको स्मरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञवालीले मदन–आश्रितले अघि सारेको विचार र मार्गदर्शनले कठिन परिस्थितिमा पनि निरन्तर अघि बढ्ने प्रेरणा दिएको बताए । यस्तै, बागमती प्रदेशसभा संसदीय दलका नेता तथा केन्द्रीय सदस्य जेएन थपलियाले नेताद्वयको दूरदर्शी सोचलाई थप सशक्त रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।
जिल्ला अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेका थिए । एमाले चितवनले मदन–आश्रित स्मृति दिवसका अवसरमा पाँचदिने कार्यक्रमसमेत तय गरेको जनाएको छ । सोहीअन्तर्गत जेठ ४ गते ‘जनताको बहुदलीय जनवादको कसीमा वर्तमान अवस्था र आगामी कार्यभार’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने सचिव ढुङ्गानाले जानकारी दिए ।
त्यस्तै, मदन भण्डारीको शव फेला परेको पश्चिम चितवनको गाजीपुरस्थित मदन पार्कमा जेठ ५ गते श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ ।
वि.सं. २०५० साल जेठ ३ गते भएको रहस्यमय जीप दुर्घटनामा तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । एमालेले उक्त घटनालाई रहस्यमय हत्या भन्दै आएको छ ।





