माडी, १ जेठ ।
ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा सूचना प्रविधि शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले माडी माइतीघर नेपालले माडीका तीन विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।
संस्थाले दक्षिण कालिका आधारभूत विद्यालय, देवेन्द्रपुर, राष्ट्रिय आधारभूत विद्यालय, दिवानगर तथा आधारभूत विद्यालय, पाण्डवनगरलाई कम्प्युटर हस्तान्तरण गरेको हो । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल प्रा. डा. ई. हरि भण्डारीले उक्त कम्प्युटर सेट सहयोग गर्नुभएको बताइएको छ ।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष मनरुपा पौडेलले ग्रामीण क्षेत्रका विद्यार्थीलाई डिजिटल शिक्षामा पहुँच विस्तार गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । उहाँले प्रविधिमैत्री शिक्षाले विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
माडी माइतीघर नेपाल चितवनको माडी क्षेत्रलाई मूल घर मान्ने तथा हाल देश–विदेशमा बसोबास गरिरहेका महिलाहरूको साझा भावना, आत्मीय सम्बन्ध र सामाजिक उत्तरदायित्वबाट स्थापित सामाजिक संस्था हो ।
संस्थाले शिक्षा, सामाजिक सेवा तथा समुदाय विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ ।




