चितवन, १ जेठ ।
रत्ननगरस्थित रहमानिया जामे मस्जिदमा लागुऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत इलाका प्रहरी कार्यालय रत्ननगर र रहमानिया जामे मस्जिद समिति टाँडीको संयुक्त आयोजनामा शुक्रबार कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रहरी निरीक्षक सोभन विक्रम राणा र प्रहरी वरिष्ठ नायव निरीक्षक युवराज पाण्डेले लागुऔषध दुर्व्यसन, यसको असर, प्रयोगकर्तामा देखिने लक्षण, कानुनी व्यवस्था तथा समाजमा पर्ने प्रभावबारे जानकारी दिनुभएको थियो । चितवन विभिन्न क्षेत्रसँग जोडिएको जिल्ला भएकाले लागुऔषधको जोखिम बढ्दो रहेको उल्लेख गर्दै समुदायस्तरमै सचेतना आवश्यक रहेको प्रहरीको भनाइ थियो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले “म लागुपदार्थ सेवन गर्दिनँ, कसैलाई सेवन गर्न पनि दिन्नँ” भन्दै सामूहिक प्रतिबद्धता जनाएका थिए ।
मस्जिद समितिका अध्यक्ष अब्दुल वहाबले कार्यक्रम प्रभावकारी र समयसापेक्ष रहेको बताउँदै यसले समाजमा सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिनुभयो ।
इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डीएसपी सुवास भट्टले लागुऔषध नियन्त्रणमा सचेतना, रोकथाम र आवश्यक परे मात्र कानुनी कारबाहीको नीति अपनाइएको बताउनुभयो । उहाँका अनुसार मापसे र लापसे चेकजाँचलाई कडाइ गर्दै प्रहरीले ‘शून्य सहनशीलता’ नीति लागू गरेको छ ।




