जनकपुर साहित्य महोत्सवको सातौं संस्करण सुरु

जनकपुरधाम, १ जेठ ।

जनकपुर साहित्य महोत्सवको सातौं संस्करण शुक्रबार जनकपुरधाममा भव्य रूपमा सुरु भएको छ।

जनकपुरधामस्थित महेन्द्रनारायणनिधि सभाहलमा आयोजित उद्घाटन समारोहमा मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभले पानसमा बत्ती बालेर महोत्सवको औपचारिक शुभारम्भ गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै महोत्सवका परिकल्पनाकार तथा संघीय सांसद मनिष झाले साहित्य र समाजबीचको सम्बन्धलाई सुदृढ गर्दै बौद्धिक बहसको साझा मञ्च निर्माण गर्ने उद्देश्यले महोत्सवको थालनी गरिएको बताउनुभयो ।

उहाँले महोत्सवले नयाँ पुस्तामा साहित्यप्रति रुचि बढाउनुका साथै स्थानीय पहिचान, भाषा र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

नव मिथिला फाउन्डेसनको आयोजनामा भइरहेको महोत्सवबारे जानकारी दिँदै फाउन्डेसनका अध्यक्ष अमित साहले महोत्सवलाई मधेशको बौद्धिक विमर्शको महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले देश तथा विदेशका साहित्यकार, चिन्तक, शिक्षाविद् र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई थप समृद्ध बनाउने उल्लेख गर्नुभयो ।

उद्घाटन कार्यक्रममा उद्योगपति उपेन्द्र महतो, जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोज साह लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । महोत्सवको सञ्चालन कला तथा साहित्य क्षेत्रमा परिचित नाम धिरेन्द्र प्रेमर्षीले गरिरहनु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सव अवधिभर संस्कार, संस्कृति, धरातलीय साहित्य, शिक्षा, खेलकुद, राजनीति तथा परराष्ट्र नीति लगायत समसामयिक र बहुआयामिक विषयहरूमा विचार–विमर्श, अन्तरक्रिया र छलफल कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ ।

साहित्यप्रेमी, विद्यार्थी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको महोत्सवले जनकपुरलाई पुनः एकपटक साहित्यिक राजधानीका रूपमा चिनाउने विश्वास आयोजकको रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट