अङ्कुरम् एकेडेमी भरतपुरमा वृहत् स्काउट भेला हुँदै

चितवन, १ जेठ ।
नेपाल स्काउटको अभियानलाई थप प्रभावकारी, अनुशासित र नेतृत्वमुखी बनाउने उद्देश्यसहित चितवनमा स्काउटर्स मिट चितवन–२०८३ आयोजना हुने भएको छ ।

चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा हुने उक्त कार्यक्रम यही जेठ ३ गते आइतबार भरतपुर महानगरपालिका–७, तेह्रसाल चोकस्थित अङ्कुरम् एकेडेमीमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

स्काउट आन्दोलनमार्फत युवाहरूमा नेतृत्व क्षमता, अनुशासन, सामाजिक उत्तरदायित्व तथा सेवाभाव अभिवृद्धि गर्ने लक्ष्यसहित आयोजना हुन लागेको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

त्यस्तै, नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक एवं चिकित्सक प्रणव मान कर्मचार्य विशेष अतिथिका रूपमा रहने चितवन स्मार्ट स्काउट क्रूका सचिव शिवप्रसाद बरालले जानकारी दिएका छन् ।

कार्यक्रममा जिल्लाभरका स्काउट मास्टर्स, कब मास्टर्स, ब्राउनी आउल्स, रोभर तथा रेन्जर लिडर्स, सहायक राष्ट्रिय प्रशिक्षक, राष्ट्रिय प्रशिक्षकलगायत स्काउट अभियानमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ ।

आयोजकका अनुसार उक्त भेलाले स्काउटहरूबीच अनुभव आदान–प्रदान, आपसी सम्बन्ध विस्तार, नेतृत्व विकास तथा समाजसेवामूलक गतिविधिप्रति साझा प्रतिबद्धता निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

पछिल्लो समय युवापुस्तामा बढ्दो सामाजिक चुनौती, निराशा तथा अनुशासनहीनताको अवस्थाबीच स्काउट आन्दोलनले सकारात्मक ऊर्जा र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने आयोजकको धारणा रहेको छ । त्यसैले स्काउटर्स मिट चितवन–२०८३ लाई केवल औपचारिक भेटघाट नभई स्काउट अभियानलाई थप गतिशील र प्रभावकारी बनाउने अभियानका रूपमा लिइएको छ ।

यसअघि तय गरिएको मितिमा प्रदेशस्तरीय गिलवेल एड्भान्स स्काउट्स रियुनियन कार्यक्रमसमेत परेकाले सहभागीहरूको सहजता र व्यापक उपस्थितिलाई ध्यानमा राख्दै कार्यक्रमको मिति परिवर्तन गरिएको कार्यक्रम संयोजक तथा स्काउटर एवं रोभर लिडर आकाश न्यौपानेले जानकारी दिएका छन् ।

चितवन स्मार्ट स्काउट क्रूले जिल्लामा कार्यरत सम्पूर्ण स्काउटरहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गर्दै समयमै दर्ता गर्न अनुरोध गरेको छ । कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने तथा सहभागीहरूका लागि खाजा तथा जलपानको व्यवस्था आयोजकले नै गर्ने जनाएको छ ।

चितवनमा आयोजना हुन लागेको स्काउटर्स मिट चितवन–२०८३ लाई स्काउट अभियानको सुदृढीकरण, युवा नेतृत्व विकास तथा सामाजिक सेवाको संस्कार विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट