भरतपुर, १ जेठ ।
युवा नेतृत्व, सामाजिक सेवा तथा संस्थागत सक्रियतामा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको शारदानगर जेसीजले नेपाल जेसिजद्वारा प्रदान गरिने प्रतिष्ठित “संकल्प टु सक्सेस अवार्ड” प्राप्त गरेको छ ।
नेपाल जेसीजको परिपत्रअनुसार निर्धारित कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै उत्कृष्ट कार्यसम्पादन गरेबापत शारदानगर जेसीजलाई अप्रिल महिनाको उक्त अवार्ड प्रदान गरिएको हो । समयमै कार्यक्रम सम्पन्न गर्ने क्षमता, संस्थागत सक्रियता तथा नेतृत्वदायी भूमिकाका आधारमा संस्थाले यो सम्मान हासिल गरेको जनाएको छ ।
यस उपलब्धिले शारदानगर जेसीजको संगठनात्मक क्षमता, नेतृत्व विकासप्रतिको प्रतिबद्धता तथा समाजसेवाप्रतिको समर्पणलाई थप उजागर गरेको छ । संस्थाले स्थानीय तहमा सामाजिक, शैक्षिक तथा नेतृत्व विकाससम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।
संस्थाका पदाधिकारीहरूले यो सम्मान सम्पूर्ण सदस्यहरूको एकता, मेहनत र समर्पणको परिणाम भएको बताएका छन् । साथै आगामी दिनमा अझ प्रभावकारी, सिर्जनात्मक र समाज रूपान्तरणमुखी कार्यक्रम सञ्चालन गर्दै समुदायमा सकारात्मक योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो उपलब्धिसँगै नेपाल जेसीज भित्र शारदानगर जेसिजको सशक्त उपस्थिति अझ मजबुत बनेको छ । उक्त सफलता सम्पूर्ण शारदानगर जेसीज परिवारका लागि गर्वको विषय बनेको संस्थाले जनाएको छ ।





