काठमाडौँ, १ जेठ ।
दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वभर विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ ।
यस अवसरमा United Nations को प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल आयोजना गरिएको छ ।
परिवारसँग सम्बन्धित विषयमा United Nations ले सन् १९८० को दशकदेखि विशेष ध्यान दिन थालेको थियो । आर्थिक तथा सामाजिक परिषद्को सिफारिसमा सामाजिक विकास आयोगले सन् १९८३ मा ‘विकास प्रक्रियामा परिवारको भूमिका’ सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता र समाधानका उपायबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्न पहल गरेको थियो ।
त्यसपछि सन् १९८५ मा परिषद्ले महासभालाई ‘विकास प्रक्रियामा परिवार’ शीर्षकलाई कार्यसूचीमा समावेश गर्न सुझाव दिएको थियो । सदस्य राष्ट्रहरूको धारणा र प्रस्तावका आधारमा परिवारको अवस्था र कल्याण सुधार गर्न तथा सामाजिक विकासका लागि अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्ने प्रयास अघि बढाइएको थियो ।
United Nations महासभाले सन् १९८९ लाई ‘अन्तरराष्ट्रिय परिवार वर्ष’ घोषणा गरेको थियो । त्यसपछि सन् १९९३ मा पारित प्रस्तावअनुसार हरेक वर्ष मे १५ लाई अन्तरराष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय गरिएको हो । यो दिवस सन् १९९४ देखि औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो ।
अन्तरराष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसाङ्ख्यिक विषयमा जनचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ । साथै, दिगो विकास लक्ष्य हासिल गर्न परिवार र परिवारमैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ ।
गरिबी न्यूनीकरण, विभेद अन्त्य, सामाजिक सुरक्षा तथा समावेशी विकासका लक्ष्य पूरा गर्न परिवारको भूमिकालाई विशेष महत्व दिइएको छ ।




