सादा जीवनका धनी टंकप्रसाद आचार्यको जीवनी समेटिएको ‘टंकको टंकण’ सार्वजनिक

गैंडाकोट, ३१ वैशाख ।
स्वर्गीय टंकप्रसाद आचार्यको जीवन सङ्घर्ष, सामाजिक योगदान र सफलताको यात्रालाई समेटिएको पुस्तक ‘टंकको टंकण’ मंगलबार गैंडाकोटमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ ।

विसं १९९३ भदौ ४ गतेदेखि २०८२ जेठ ९ गतेसम्मको व्यक्तिगत जीवनी, पारिवारिक यात्रा तथा समकालीन इतिहास समेटिएको उक्त पुस्तक वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिक गर्दै विनोदीले स्वर्गीय आचार्यलाई सादा जीवन, उच्च विचार र समाजप्रति समर्पित व्यक्तित्वका रूपमा स्मरण गरे । उनले आचार्यको जीवन नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै उनका अनुभव र सङ्घर्षलाई पुस्तकमार्फत दस्तावेजीकरण गर्नु महत्वपूर्ण कार्य भएको बताए ।

कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले स्वर्गीय आचार्य समाजमा मिलनसार, सहयोगी र जिम्मेवार अभिभावकका रूपमा परिचित रहेको बताए । `उहाँले समाजलाई जोड्ने काम गर्नुभयो, उहाँको जीवन समाजका लागि उदाहरणीय छ,´ उनले भने ।

कार्यक्रममा स्वर्गीय आचार्यका छोरा किशोर आचार्यले बुबासँगका संस्मरण सुनाउँदै कठिन परिस्थितिमा पनि परिवार र समाजलाई सँगै लिएर अघि बढ्ने बुबाको बानी आफूहरूका लागि मार्गदर्शन बनेको बताए । `बुबाले हामीलाई सम्पत्तिभन्दा पनि इमानदारी, अनुशासन र मेहनतको शिक्षा दिनुभयो,´ उनले भावुक हुँदै उल्लेख गरे ।

आचार्यको प्रथम वार्षिकीको अवसर पारेर उनका नौ छोरा र दुई छोरीले संयुक्त रूपमा करिब २०० पृष्ठको उक्त पुस्तक प्रकाशन गरेका हुन् । पुस्तकलाई लेखन कुञ्ज थापागाउँ काठमाडौंले प्रकाशन गरेको हो । पुस्तकका लेखक स्वयं स्वर्गीय टंकप्रसाद आचार्यले अन्तिम समयसम्म लेखेका पाण्डुलिपिलाई पुस्तकको रूप दिइएको हो । पुस्तकको सम्पादन चाहना श्रेष्ठले गरेकी हुन् ।

कार्यक्रममा राजनीतिज्ञ, समाजसेवी, विभिन्न सङ्घसंस्थाका पदाधिकारी, आचार्य परिवारका सदस्य तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शंकर अधिकारीले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट