भरतपुर, ३० वैशाख ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको पहलमा नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पताल मा कार्यरत नेत्र चिकित्सकका लागि आवास भवन निर्माण गर्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।
करीब ३ करोड रुपैयाँ बराबरको बहुवर्षीय आयोजना अन्तर्गत चिकित्सक आवास भवन निर्माण गर्ने तयारी गरिएको हो । योजना कार्यान्वयनमा आएपछि अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकलाई व्यवस्थित आवास सुविधा उपलब्ध हुने तथा स्वास्थ्य सेवाको गुणस्तर थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
छलफल कार्यक्रममा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशी को विशेष उपस्थिति रहेको थियो । उहाँले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकाससँगै विशेषज्ञ जनशक्तिलाई टिकाइ राख्न आवास व्यवस्थाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
उहाँले भरतपुर आँखा अस्पतालले देशभरिका बिरामीलाई सेवा दिँदै आएको उल्लेख गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पूर्वाधार विस्तार गर्न प्रदेश सरकार सकारात्मक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागी सरोकारवालाले बहुवर्षीय योजनाले अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी र व्यवस्थित बन्ने विश्वास व्यक्त गरेका थिए ।





